सम्पूर्ण अपडेट

यी हुन् नेपाली कांग्रेस जितेका ५ निर्वाचन क्षेत्र

616
Shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले विभिन्न पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । प्राप्त अन्तिम मतपरिणाम अनुसार दैलेख, तेह्रथुम, रसुवा, मुस्ताङ र मनाङमा कांग्रेसका उम्मेदवारहरू निर्वाचित भएका हुन् ।

दैलेख क्षेत्र नं. १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी भएकी छन् । उनले १२ हजार ३७२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७१६ मत पाएका छन् । थापाले ६५६ को मतान्तरले जित सुनिश्चित गरेकी हुन् ।

तेह्रथुम–१ मा कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन् । सुब्बाले ११ हजार ५६१ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गरे । ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा विजयी भएका हुन् ।

रसुवा–१ मा कांग्रेसका मोहन आचार्य भारी मतान्तरले विजयी भए । आचार्यले १० हजार ६५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५ हजार ५७१ मत मात्रै पाएका छन् । आचार्यले ५ हजारभन्दा बढीको मतान्तरले जित दर्ता गरेका हुन् ।

मुस्ताङमा युवा उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले ३ हजार ३०७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा डाडु विष्टले १ हजार ८०६ मत प्राप्त गरे ।

मनाङबाट कांग्रेसका पाका नेता टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले २ हजार ४१५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीकी यशोदा गुरुङ (सुवेदी) ले मात्र ४५४ मत प्राप्त गरिन् ।

९ ठाउँमा कांग्रेस अगाडि

जारी मतगणनामा नेपाली कांग्रेसले थप ९ निर्वाचन क्षेत्रमा आफ्नो अग्रता कायम गरेको छ । पछिल्लो प्राप्त परिणाम अनुसार कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका विभिन्न क्षेत्रमा कांग्रेस उम्मेदवारहरूले प्रतिद्वन्द्वीलाई पछि पारिरहेका छन् ।

सुर्खेत क्षेत्र नं. १ मा कांग्रेसका विष्णुबहादुर खड्का १४ हजार २६७ मतका साथ फराकिलो अग्रतामा छन् । उनलाई नेकपा एमालेका ध्रुवकुमार शाहीले ९ हजार ८६५ मतका साथ पछ्याइरहेका छन् । यस्तै, जाजरकोट–१ मा खड्कबहादुर बुढा ११ हजार ४६३ मतसहित अगाडि छन् । उनले पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता शक्तिबहादुर बस्नेत (१० हजार १६ मत) लाई पछि पारेका छन् ।

कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह ११ हजार ९५३ मतका साथ अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले ११ हजार ३३८ मतका साथ कडा टक्कर दिइरहेका छन् । डोटी–१ मा भरतबहादुर खड्का ९ हजार १७१ मतसहित सुरक्षित देखिन्छन् भने एमालेका चक्रबहादुर मल्ल ८ हजार १७१ मतका साथ पछ्याइरहेका छन् ।

बाजुरा–१ मा जनकराज गिरी ४ हजार ५७४ मतका साथ अगाडि छन् भने ओखलढुङ्गा–१ मा कुमार लुइँटेल ४ हजार ४४० मतका साथ अग्रता लिइरहेका छन् । लुइँटेललाई रास्वपाका विश्वराज पोखरेलले ३ हजार ५१७ मतका साथ पछ्याइरहेका छन् ।

केही निर्वाचन क्षेत्रमा भने निकै प्रतिस्पर्धात्मक अवस्था देखिएको छ । रौतहट–२मा कांग्रेसका मो. फिरदोश आलम ३ हजार ६७८ मतका साथ अगाडि छन्, तर रास्वपाका शेख सागर ३ हजार ६६८ मतका साथ मात्र १० मतले पछाडि छन् ।

सोलुखुम्बु–१मा प्रकाश सिंह कार्की २ हजार ९५ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेकी कल्पना राईले २ हजार ५२ मतका साथ पछ्याउँदै छिन् ।

इलाम–१ मा कांग्रेसका निश्चल राई १ हजार ६२ मतका साथ अगाडि छन् भने श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु १ हजार ४० मतका साथ उनीसँगै प्रतिस्पर्धामा छन् ।