पूँजी अनुसार बढेन बैंकको नाफा, वर्षेनी घट्दो प्रतिफल



काठमाडौं । सेयर बजारमा सूचिकृत बैंकहरुमा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा सबैभन्दा बढी नाफा कृषि विकास बैंकको छ ।

कृषि विकास बैंकले ३ अर्ब ६९ करोड नाफा कमाएको छ । कृषि विकास बैंकको पूँजीमा प्रतिफल(आरओइ) प्रतिफल भने जम्मा १३.२२ प्रतिशत छ । आर्थिक वर्ष २०७०÷७१ मा १९ प्रतिशत रहेको थियो ।

यस्तै अहिलेसम्म प्रकाशित विवरणमा नेप्सेमा सूचिकृत बैंकहरुमा दोस्रोमा बढी नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड रहेको छ । ३ अर्ब ६५ करोड नाफा गरेपनि नेपाल इन्भेष्टमेन्टको गतवर्षको आरओई १२.७६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७०/७१ मा नेपाल इन्भेष्टमेन्ट बैंकको आरओइ ३७.५१ प्रतिशत थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पूँजी अनुसारको नाफा बढाउन नसकेको देखिन्छ । पूँजी अनुसारको नाफा बढाउन नसक्नेमा नेपाल इन्भेष्टमेन्ट बैंकमात्र नभएर समग्र बैंकहरुको नाफा नै पूँजी अनुसार नभएको देखिन्छ ।

अहिलेसम्म प्रकाशित वित्तीय विवरण अनुसार सबैभन्दा बढी आरओई एनआईसी एशिया बैंकको छ । एनआईसी एशिया बैंकको आरओई १८.६४ प्रतिशत छ । एनआईसी एशिया बैंकको आरओई पनि हरेक वर्ष घट्दो क्रममा रहेको देखिन्छ ।

उद्योगी र व्यवसायीहरुले हरेक वर्ष बैंकको वित्तीय विवरण सार्वजनिक हुने बेला बैंकको नाफामा प्रश्न गरेपनि प्रतिफल भने वर्षेनी घट्दो क्रममा रहेको देखिन्छ । नेप्सेमा सूचिकृत केही उद्योगको वित्तीय विवरण हेर्ने हो भने पूँजीभन्दा बढी नाफा गरेको देखिन्छ ।

नेप्सेमा सूचिकृत युनिलिभरको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ हो । युनिलिभरले गत आर्थिक वर्षमा ८५ करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ । नेप्सेमा सूचिकृत कम्पनीमा आरओई बढी हुने र सेयरधनीलाई बढी प्रतिफल दिने कम्पनीमा युनिलिभर पर्छ ।

यस्तै पछिल्ला केही वर्षे सेयरधनीलाई राम्रो प्रतिफल दिने हिमालयन डिस्टिलिरीले पनि पूँजीभन्दा बढी नाफा गरेको छ । ८६ करोड चुक्ता पूँजी रहेको हिमालयन डिस्टिलरीले गरेको नाफा १ अर्ब ४ करोड गरेको छ ।

वाणिज्य बैंकहरुको आरओई हेर्दा वर्षेनी घट्दो क्रममा रहेपनि व्यवसायी र समाजमा अर्बको नाफाको मात्र छाप परेको देखिन्छ । वित्तीय विवरण हेर्दा ५ वटा बैंकको आरओई १० प्रतिशतभन्दा कम भएको देखिन्छ ।


क्लिकमान्डु