रेमिट्यान्स कम्पनीलाई कडाइ गर्दै राष्ट्र बैंक, विनिमयदरमा एकरुपता कायम गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रषण आप्रवाह (रेमिट्यान्स) कम्पनीलाई थप कडाइ गरेको छ ।

केन्द्रीय बैंकले मंगलबार एक परिपत्र जारी गर्दै विदेशी विनिमयदर र कारोबारमा कडाइ गरेको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै फेडानमार्फत् राष्ट्र बैंकबाट विदेशी विनिमयदर अनुसारनै कारोबार गर्न बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स निर्देशन दिएको छ ।

जसअनुसार अब फरेन एक्सचेञ्ज डिलर एसोसिएसन अफ नेपाल (फेडान)ले प्रकाशित गर्ने विनिमयदर अनुसार सबै रेमिट्यान्स कम्पनीहरु विदेशमा रहेका नेपालीको पैसा पठाउनु पर्नेछ ।

यसअघि विभिन्न रेमिट्यान्स कम्पनीहरुले भिन्न भिन्न रेटमा विदेशी मुद्रा सटही गरी रेमिट्यान्स पठाउने गरेका हुँदा यसलाई एकरुपता ल्याउन सो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

हालसम्म यस्तो विदेशी विनिमयदर राष्ट्र बैंकले २० वटा देशको आफ्नो वेव साइटमा प्रकाशित गर्ने गरेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार फेडानले प्रकाशित हुने विदेशी मुद्राहरुको औषत खरिद दर तय गरी प्रत्येक दिन बिहान १० बजे र २ बजे प्रकाशित गर्नुपर्ने छ । जसमा फेडानले नेपाली रहेका सम्पूर्ण देशको मुद्राको विनिमयदर प्रकाशित गर्नु पर्नेछ ।

सोही दरलाई आधारमानी बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरुले विप्रेषण कारोबार गर्नु पर्नेछ । फेडानले प्रत्येक दिन प्रकाशित विनिमयदर राष्ट्र बैंक विदेशी व्यवस्थापन विभाग पठाउनु पर्ने छ भने रेमिट्यान्स् समबन्धी कारोबार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनु पर्नेछ ।

यस्तै, राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई आफ्ना एजेण्टसँग नगद धरौटी लिन नपाउने व्यवस्था समेत गरेको छ । राष्ट्र बैंकबाट अनुमति प्राप्त ५१ वटा रेमिट्यान्स कम्पनीहरुको देश व्यापीरुपमा हजारौं रेमिट एजेण्टहरु हुन्छन् ।

त्यस्ता एजेण्टसँग कम्पनीले कारोबार गर्नको लागि केही परिमाणमा रकम धरौटी दिँदै आएका छन् । जसलाई राष्ट्र बैंकले बैंक ग्यारेन्टी लिनु पर्ने निर्देशन कम्पनीलाई दिएको हो । साथै, यस्ता रेमिट एजेण्टहरुलाई कम्पनीले दिने वित्तीय तथा गैर वित्तीय सुविधा विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमबाट कट्टी गर्न नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।


क्लिकमान्डु