बिशाल बजार कम्पनीको सेयर मूल्यमा यसरी हुँदैछ चलखेल !



काठमाडौं । आजभन्दा करिब १ वर्षअघि अर्थात् २०२० जुन २९ तारिखमा विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५५० रुपैयाँ थियो । सेयर बजारमा पनि अन्य कम्पनीको उति साह्रो मूल्य बढेको थिएन ।

तर, यसबीचमा अन्य कम्पनीको सेयर मूल्यमा उछाल आएसँगै विशाल बजार कम्पनीको सेयर मूल्यमा पनि भारी उछाल देखिएको छ । एक वर्षको अवधिमा ३८२ प्रतिशतसम्म मूल्य बढेको छ ।

लामो समयसम्म वित्तीय विवरण प्रकाशित नगरेको विशाल बजार कम्पनीको सेयर मूल्यमा उछाल आउनुको कारण हो कम्पनीको सेयरमा भएको ‘कर्नरिङ’ ।

कर्नरिङको खेलमा कति लगानीकर्ता डुबे भने कतिले निकै ठूलो मुनाफा पनि आर्जन गर्न सफल भए । बजारमा लगानीकर्ताहरु एकातिर कर्नरिङ गर्ने र अर्कोतर्फ पुँजीवृद्धि गर्ने र राम्रो प्रतिफल दिने हौवा फैलाएर सेयर मूल्यलाई निरन्तर बढाए ।

यतिसम्म कि, कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५५० रुपैयाँबाट प्रतिकित्ता ७ हजार ४६२ रुपैयाँसम्म पुर्याए ।

यसैबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीले तीन वर्षदेखि वित्तीय विवरण प्रकाशित नगरेको भन्दै केही समय दोस्रो बजारको कारोबारसमेत रोक्का गर्यो ।

नेप्से कारोबार रोक्का गर्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८८० रुपैयाँ थियो । तर, दोस्रो बजारमा कारोबार फुकुवा भएको मितिबाट यसले फेरि नयाँ उचाइ लिन शुरु गर्यो । र, आजका दिनसम्म आइपुग्दा प्रतिकित्ता ६ हजार ५०० रुपैयाँ पुगेको छ ।

के विशाल बजार कम्पनीले पुँजीको संरचना परिवर्तन गर्दैछ ?

पछिल्लो केही दिनयता विशाल बजार कम्पनीको दोस्रो बजारमा सेयर मूल्य बढिरहेको छ । र, यसका लागि लगानीकर्ताले ठूलो मात्रामा सेयर खरिद गरी दोस्रो बजारको सेयर आफ्नो नियन्त्रणमा लिएको देखिन्छ ।

विशाल बजारको सेयरमा हाललाई ठूलो उछाल आउन नदिई आफूले खरिद गरी उच्च परिणाममा संकलन गरिसके पश्तात् मात्र बजारलाई अर्को उच्चतम विन्दुमा पुर्याउन दिने गरी कार्य भइरहेको पछिल्ला दिनको कारोबारबाट पुष्टि हुन्छ ।

बजारमा नियन्त्रित आपुर्ति गरी सेयर संकलन गर्ने कार्य भइरहेको हुँदा यसले अत्यधिक माग हुँदा आपुर्ति अनपेक्षितरुपमा देखिने भइरहेको र बढ्दो बजारमा यसको सेयर कारोबार तथा संकलन गर्न नसकिने भएकोले बाठा लगानीकर्ताले यो रणनीति अपनाएको देखिन्छ ।

विकास बैंकपछि सानो चुक्ता पुँजी भएका संस्थाको सेयरमा ‘कर्नरिङ’ गर्दै ठूला लगानीकर्ता

बिशाल बजार कम्पनीले आगामी निकट भविष्यमै साधारणसभाको आयोजना गरी नयाँ स्वतन्त्र सञ्चालक नियुक्त गर्ने तयारी रहेकाले पनि कम्पनीको सेयरमाथि धेरै लगानीकर्ताको आँखा परिरहेको सजिलै अनुमान गर्न सकिन्छ ।

यस कम्पनीको हालको प्रतिसेयर आम्दानी २ सय ५० रुपैयाँ रहेको र नेटवर्थ १ हजार ६८५ रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा झण्डै ८० करोड रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २६ प्रतिशतमात्रै छ ।

अन्य वित्तीय सूचकका आधारमा यस कम्पनीको लगानीमा जोखिमअनुसारको प्रतिफल लगानीकर्ता प्राप्त गर्न सक्नेमा कुनै शंका छैन । यसका साथै कम्पनीले आगामी साधारणसभाबाट दीर्घकालीन महत्वका प्रस्तावहरु पारित गर्न लागेको बजार हल्ला छ ।

जसअन्तर्गत कम्पनिको पुँजी संरचनामा परिवर्तन गरी सर्वसाधारण लगानीलाई न्यूनतम १० प्रतिशत कायम गर्ने र त्यसका लागि हकप्रद सेयर वितरण गर्न लागिएको भन्दै बजार बढाउन खेलबाड भइरहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी करिब ५ करोड रहेको छ । सर्वोच्च अदालको पुँजी बढाउनुपर्ने फैसला गरेसँगै कायम हुने पुँजी ४ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने ४० करोड बराबरको सेयर वा त कम्पनीले १ हजार प्रतिशत हकप्रद सेयर अथवा एपपीओमार्फत् बजारमा ल्याउने अनुमान गरिएको छ ।

धितोपत्र नियमावलीको परिच्छेद ३ को दफा ९ बमोजीम जारी पुँजीको कम्तीमा १० प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोले हकप्रद वा एफपीओको विकल्पमा जानैपर्ने देखिन्छ ।

सो प्रयोजनका लागि कम्पनीले प्रबन्धपत्र तथा नियमावली समेत सच्चाइसकेको छ । हकप्रद अथवा एफपीओ जेसुकै विकल्पमा पनि बिशाल बजारको मूल्य निकै उच्च हुने सम्भावना रहेको भन्दै सीमित लगानीकर्ताले सेयर होल्ड गरी कर्नरिङ गरिरहेका छन् ।

एफपीओमार्फत् यदि पुँजी सरंचना परिवर्तन गर्ने हो भने बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्दा उच्च मूल्यमा सेयर निष्कासन गरी जगेडा कोष अझ बलियो हुनसक्छ ।

तर, लामो अवधिदेखि कायम सेयरधनीहरुको हित हुने उद्देश्यकासाथ कम्पनीले हकप्रदलाई नै प्राथमिकतामा राखेको र निष्काशनका लागि बिक्री प्रबन्धक तय गर्ने तयारी भइरहेको भन्ने अपुष्ट हल्ला  चालेर मूल्यमा खेलबाड भइरहेको छ ।


पुष्प दुलाल