विकास बैंकपछि सानो चुक्ता पुँजी भएका संस्थाको सेयरमा ‘कर्नरिङ’ गर्दै ठूला लगानीकर्ता



काठमाडौं । राष्ट्र बैंकको कडाइका वावजुद सेयर बजारमा लगानीकर्ताहरुको ओइरो लागेको छ । र, उनीहरुले जुवाडे शैलीमा आफ्नो पुँजी दाउमा लगाउन थालेका छन् ।

बजार निरन्तर ऐतिहासिक रेकर्ड तय गर्दै उँभो लागिरहेको छ । र, दैनिक रु १५ अर्बमाथिको कारोबार हुन थालेको छ । केही दिन त १७ अर्ब माथिको कारोबार भएर उक्त पैसा कहाँबाट आयो ? भन्ने प्रश्नसमेत खडा गरिदिएको छ ।

बजारमा कम्पनीको आधारभूत सूचकको विश्लेषणभन्दा बुलिस सूचकले जता डोर्याउँछ, लगानीकर्ता त्यसकै पछि लाग्न थालेका छन् । बुलिस प्रवृत्ति हो भन्दै यसमा कर्नरिङ गरेर पैसा कमाउन सकिन्छ भन्ने लगानीकर्ताहरुको ठूलो जमातले अर्बौं कमाइसकेका छन् । र, व्यक्तिको भागमा पनि करोडौं हिस्सा परिसकेको अनुमान गरिएको छ ।

शुरुमा १०/१२ जनाको समूह बनाउने र कुनै एउटा सानो चुक्ता पुँजीको सूचीकृत संस्था समात्ने र तिनै समूहबीच कारोबार बढाएर कमिसन मात्र तिर्दै मूल्य बढाउने प्रवृत्ति देखियो । आपसमा कारोबार गरिरहँदा तिनीहरुले त्यस्ता कम्पनीको मूल्य एक बर्षको बीचमा तेब्बर जति पुर्याइसकेका छन् ।

यस्ता समूह २०/२५ वटाको संख्यामा सक्रिय रहेको बताइएको छ । तिनीहरु शुरुमा बीमा, लघुवित्त, टेलिकम, जलविद्युत तथा केही व्यापारिक र औद्योगिक कम्पनीका सेयरमा पालैपालो लागेका थिए । बजारमा यसहप्ता जलविद्युतको पालो, अर्को हप्ता, बीमा, त्यसपछि व्यापारिक कम्पनी भन्दै हल्ला चलाउनेमा तिनीहरु नै रहेको ब्रोकर सूत्रहरुले जानकारी लिएका छन् ।

उदाहरणका लागि ५८ नं ब्रोकरले जे खरिद गर्छ त्यही खरिद गर्ने र जे बिक्री गर्छ त्यही बिक्री गर्ने भन्ने मान्यता समेत उनीहरुले स्थापित गरेका छन् । सेयरको सबैभन्दा धेरै कारोबार गर्ने यस ब्रोकर कम्पनीमार्फत नै नीति निर्माणका निकायमा काम गर्नेहरु समेत कारोबार गर्ने गर्छन् भन्ने हल्ला छ । त्यसैले नीतिगत परिवर्तनको जानकारी पहिला नै यस दलाल कम्पनीलाई थाहा भैहाल्ने भएकोले असुविधा हुनासाथ सेयर बिक्री गरी बाहिर निस्कन सकिन्छ भन्ने हल्ला चलाइएको छ ।

बजारलाई पारदर्शी र कम जोखिमयुक्त बनाउनका लागि राष्ट्र बैंक र धितोपत्र बोर्ड तथा बीमा कम्पनीका नीतिगत औजारहरुलाई समेत निकम्मा बनाइदिन लगानीकर्ताका भिन्न भिन्न कर्नरिङ र ड्राईआउट समूहहरु सक्रिय रहेकै छन् । तिनीहरुकै एकीकृत प्रयास हो जसले बजारलाई निरन्तर माथितिरको यात्रामा डोर्याइरहेको छ ।

सेयरहरुको धितो राखेर कर्जा लिने र मूल्यमा ह्रास आएमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा जोखिममा जाने अनुमान गरी राष्ट्र बैंकले हालै यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न केही नीतिगत औजारहरुको घोषणा गरी कार्यान्वयनमा ल्यायो ।

तर, बजारमा त्यसले काम गरेको देखिएन । किनकि बजारमा कर्नरिङ्ग र ड्राईआउट समूहहरु सक्रिय रहेका छन् । तिनीहरुले लघुवित्तीय संस्था, जलविद्युत, बीमा व्यापारिक कम्पनी हुँदै अहिले वित्त कम्पनी, विकास बैंक र साना मूल्यका र साना पुँजीका बैंकलाई समेत आँखा लगाउन थालेका छन् ।

लघुवित्तीय संस्था तथा अन्य कम्पनीमा गरेको लगानी बढेको मूल्यमा बिक्रीमा ल्याउँदा ती कम्पनीको आम्दानी÷नाफा बढ्नेछ, तिनीहरुले दिने प्रतिफल बढ्नेछ भनेर यी समूहहरुले अहिले विकास बैंक र वित्त कम्पनीहरुको मूल्य बढाइरहेका छन् । एकहप्तादेखि यी समूहका कम्पनीको मूल्य सर्किट लेभलमा कारोबार भैरहेको छ ।

उदाहरणकन लागि लुम्बिनी विकास बैंकको डिप्रोक्स विकास बैंकमा संस्थापकबाट साधारणमा परिवर्तन भएको करिव ४ लाख कित्ता सेयर बिक्री हुन सक्ने अनुमान गरी दिनैपिच्छे वृद्धिको सर्किट लेभलमा कारोबार गराइएको छ । यद्यपि कम्पनीले डिप्रोक्सको उक्त सेयर बिक्रीमा ल्याउने निर्णय गरेको छैन । र, मनस्थिति पनि बनाएको छैन ।

त्यसैगरी, अघिल्लो हप्ताको अन्त्यतिरबाट कर्नरिङ र ड्राईआउट समूहहरु लगानीकर्ताहरु साना बैंकको मूल्य वृद्धितिर लागेका छन् । गत चैतसम्मको वित्तीय विवरणअनुसार सबैभन्दा उच्चस्तरको प्रतिफल आर्जन गर्ने र लाभांश वितरणको क्षमता भएको नबिल बैंकको सेयरमूल्य २० रुपैयाँले बढ्यो भने २५ रुपैयाँले घट्ने गरेको छ ।

तर, साना बैंकहरु जसले ५ देखि १० प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दैनन्, तिनको सेयरमूल्य ५० प्रतिशतले बढिसकेको छ । सिभिल सेन्चुरी बैंक यसका केही उदाहरण हुन् । नबिलको चुक्ता पुँजी करिब १४ अर्ब हुनुै नै यसको कमजोरी बन्न पुगेको छ । पछिल्लो समय लगानीकर्ताको आँखामा परेको अर्को संस्था हो, सिद्धार्थ बैंक ।

गत पुसमा ठूलो कर्जा नोक्सानी व्यवस्था गरेका कारण नोक्सानीमा रहेको तर चैतमा राइट ब्याक गरी उल्लेख्य प्रगति गरी प्रतिसेयर आम्दानी करिव २५ पु¥याएको सिद्धार्थ बैंक एनआईसी बैंककै मोडेलमा आक्रामक वृद्धितर्फ लागेको छ । र, अहिलेसम्ममा यस बैंकले १६५ अर्बमाथि कर्जा लगानी गरिसकेको छ । यो केही राम्रो पक्ष होला त्यसैले केही समय यता यस बैंकको मूल्य त्यसरी नै बढेको छ ।

तर, त्यो भन्दा ठूलो कुरा यस्ता कर्नरिङ र ड्राईआउट समूहहरुका लागि यस बैंकको कम चुक्ता पुँजी र विभिन्न कम्पनीमा रहेको यस बैंकको क्रसहोल्डिङ तथा साधारण सेयर धारण हुनु नै हो । लुम्बिनी विकास बैंककै मोडेलमा यस बैंकले पनि विभिन्न कम्पनीको सेयरमा लागनी गरेको छ । संस्थापक सेयर त तुरुन्तै बिक्रीमा ल्याउने कुरा भएन । तर, करिव ४ अर्बजतिको साधारण सेयर धारण गरेको यस बैंकको नाममा सिद्धार्थ इन्सुरेन्सको मात्र १५ लाख कित्ता साधारण सेयर रहेको छ । उक्त बीमा कम्पनीको सेयरको बजार मूल्य ११६८ लाई आधार मान्ने हो भने यस बैंकलाई १ अर्ब ७५ करोड रुपैयाँ त उक्त बीमा कम्पनीको सेयर बिक्रीबाट मात्रै लाभ हुन्छ ।

अन्य माइक्रोफाइनान्स, जलविद्युत, व्यापारिक कम्पनीहरुमा भएको लगानी हिसाव गर्ने हो भने करिव ४ अर्बको नाफा त हुन्छ । यी केही सकारात्मक पक्ष अवश्य नै होलान् । तर, कम्पनीले ती सेयर बिक्री गर्ने निर्णय गरेको छैन । तर पनि लगानीकर्ताहरु यस बैंकमा झुम्मिएको देखिन्छ । अझ अन्य बैंकको त अन्य कम्पनीमा धेरै ठूलो सेयर होल्डिङ पनि देखिदैन ।

तर, पुँजी कम भएका र प्रतिफल पनि कमजोर भएका साना बैंकहरुमा समेत लगानीकर्ताहरु झुम्मिन थालेका छन् । यो चाहि आश्चर्यको विषय हो र नियामक निकायले कर्नरिङ र ड्राईआउट समूहहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने सोच्ने बेला भएको छ । अन्यथा बजारमा साना धेरै लागनीकर्ताहरु फँस्ने खतरा बढ्यो । नियामक निकायको टाउको दुखाईको विषय यही हो ।


पुष्प दुलाल