मर्जरको दिन हिमालयन बैंकको सेयर मूल्य घट्दा इन्भेष्टमेन्ट बैंकको बढ्यो
काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बिहीबार मर्जरका लागि सम्झौता भएको छ । मर्जरको सम्झौताका दिन हिमालयन बैंकको सेयर मूल्य घटेको छ भने इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य भने बढेको छ ।
बिहीबारको कारोबारमा इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा ७ रुपैयाँले बढेको छ । यो दिन बैंकको ३ लाख ९५ हजार ७३२ कित्ता सेयर १८ करोड ३४ लाख ११ हजार १६ रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी हिमालयन बैंकको सेयर मूल्य ३ रुपैयाँले घटेको छ । बिहीबार बैंकको ५७ हजार २०१ कित्ता सेयर २ करोड ७६ लाख ३२ हजार ३२४ रुपैयाँमा किनबेच भएको छ ।
मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा हिमालयन बैंकका सीइओ अशोक राणा नै रहनेछन् भने डेपुटी सीइओमा इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहनेछन् ।
मर्जरपछि बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
त्यसैगरी निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी रिजर्भमा १९ अर्ब ७४ करोड पुग्नेछ । मर्जरपछि बन्ने बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २५ सय पुग्नेछ ।
त्यसैगरी हिमालयन बैंकको ६९ वटा शाखा र इन्भेष्टमेन्ट बैंकका ८३ शाखा गरी कुल १५२ वटा शाखा कार्यालय हुनेछन् । जसमा एक दर्जनबढी शाखा कार्यालय एकै स्थानमा हुने भएकाले स्थानान्तरण हुने देखिएको छ ।