स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनाका लागि अर्थले साढे १४ अर्ब निकासा गर्न दियो सैद्दान्तिक सहमति



काठमाडौं । ‘कोभिड-१९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना’ (२०७७ फागुन-२०७८ असार) कार्यान्वयन गर्नका लागि १४ अर्ब ४६ करोड रुपैयाँ निकासा गर्न अर्थमन्त्रालयले सैद्दान्तिक स्वीकृती दिएको छ ।

स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्ने उक्त कार्ययोजनाका लागि बजेट निकासा गर्न अर्थ मन्त्रालयले सैद्दान्तिक स्वीकृती दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उक्त कार्यक्रम कार्यान्वयनका लागि सोमबार अर्थ मन्त्रालयबाट स्वीकृती पाएको जानकारी दिए ।

‘आज मात्रै अर्थमन्त्रालयले स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना कार्यान्वयनका लागि सहमति दिएको छ । त्यसका आधारमा हाम्रो खरिद प्रक्रिया अगाडि बढाएर संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा महामारी नियन्त्रणको कामलाई अझ गतिका साथ अगाडि बढाउँछौं,’ अर्यालले भने ।

यो कार्ययोजनाले पीसीआर किट, एक्स्ट्राक्सन किट, भाइरल ट्रोन्सपोर्ट मिडिया (भिटिएम), एन्टिजेन किट, मास्क, गाउन र सर्जिकल पञ्जाहरुहरुको व्यवस्थापनलाई समेट्छ । त्यस्तै अक्सिजन प्रणाली सुदृढीकरण, आइसियु, एचडियुलगायत अन्य स्वास्थ्य सामग्री र औषधी उपकरणको व्यवस्थापन गरिनेछ । खोप खरिद र संचालन अभियान पनि यहि कार्यक्रमअन्तर्गत अगाडि बढ्नेछ ।

सोमबार नै अर्थमन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका करार कर्मचारीको तलबका लागि मन्त्रालयले ५० लाख रुपैयाँ निकासा गरेको छ ।


क्लिकमान्डु