निषेधाज्ञाको अघिल्लो दिन आन्तरिक उडानमा रेकर्ड ब्रेक, २९४ उडानबाट १५ हजार बढीले गरे हवाई यात्रा
काठमाडौं । काठमाडौं उपत्यकामा भोलि विहानदेखि निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानी छाड्ने र भित्रिने संख्या बढेको छ ।
सार्वजनिक सवारी साधन तथा हवाई मार्गबाट काठमाडौं आउने र छाड्नेको संख्या बढेको छ ।
यसैक्रममा आन्तरिक हवाई उडानतर्फ भने हालसम्मको उच्च उडान संख्या र एकैदिन सबैभन्दा धेरै यात्रुले हवाई यात्रा गरेका छन् ।
त्रिभुवन विमानस्थलका अनुसार बुधबार मात्रै २९४ वटा उडानमार्फत् १५ हजार २६३ जना यात्रुले उडान भरेका छन् ।
जसमा सबैभन्दा धेरै बुध्द एयरका १४२ उडानबाट ७ हजार ८०७ जना यात्रुले उडान गरेको छन् । त्यसैगरी यति एयरलाइन्सका ७६ वटाउडानबाट ४ हजार १९७ जना यात्रुले उडान भरेका छन् ।
बुधबार ७ हजार ८६० जनाले काठमाडौं छाडेका छन् भने ७ हजार ४०३ जना काठमाडौं भित्रिएका छन् ।