हवाई उडानमा कोरोनाको न्यून असर, शुक्रबार लकडाउनपछिकै सबैभन्दा धेरै उडान र अवतरण



काठमाडौं । कोरोना महामारीपछि खुलेको हवाई उडानमा शुक्रबार सबैभन्दा बढी ‘फ्लाइट सेड्युल’ भएका छन् । विमानस्थलका अनुसार शुक्रबार २९० वटा फ्लाइट सेड्युलमा छन् ।

त्रिभुवन विमानस्थलका अनुसार शुक्रबार आन्तरिक उडानतर्फ १२४ वटा डिपार्टचर र १२४ वटा अवतरणका लागि सेड्युल छन् । त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ भने २१÷२१ वटा उडानहरु डिपार्चर र अराइभलका लागि सेड्युल छन् ।

कोरोना महामारीको नयाँ भेरियन्टका कारण सार्वजनिक यातायातलगायत शिक्षण संस्था, सिनेमा हल, जिम खाना बन्द भएका बेलामा हवाई उडानमा भने उत्साह देखिएको हो ।

सार्वजनिक यातायातमा भएको कडाई तथा विभिन्न जिल्लामा भएका लकडाउनका कारण मानिसहरुले हवाई यात्रा उपयुक्त विकल्पका रुपमा लिएको देखिन्छ ।

सस्तो हवाई टिकट तथा संक्रमणको कम जोखिम भएको आधारमा पछिल्लो समयमा आन्तरिक उडानमा यात्रुको चाप बढेको छ । विमानस्थलका अनुसार गत मार्च महिनामा आन्तरिक उडानतर्फ सबैभन्दा धेरैले यात्रा गरेका थिए ।

सन् २०१९ मा आन्तरिक हवाई यात्रुको संख्या २ लाख ६४ हजार ५४५ रहेकोमा सन् २०२१ को मार्च महिनामा यो संख्या ३ लाख ४६ हजार ४७१ पुगेको थियो । मार्च महिना यात्रुको संख्या बढी भए पनि उडान संख्या भने जम्मा ७ हजार ८६४ वटा उडान तथा अवतरण भएका थिए । सन् २०२० को मार्च महिनामै लकडाउन भएका कारण हवाई उडान बन्द भएको थियो ।

त्यसपछि खुलेको हवाई उडानमा आन्तरिकतर्फ यात्रुको ठूलो चाप छ । पछिल्लो समय नेपालका हवाई कम्पनीहरु हवाई भाडा सस्तो बनाएको र गन्तव्य पनि विस्तार गरिरहेका छन् ।


क्लिकमान्डु