२०.२३%ले निर्यात बढे पनि १० खर्ब बढीको व्यापार घाटा, ८३% देशमा घाटाको व्यापार



काठमाडौं । कोरोना संक्रमणबीचमा पनि मुलुकको अन्तर्राष्ट्रिय व्यापार स्थिति भने राम्रो देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा निर्यात २०.२३ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालले गत वर्षको चैत मसान्तसम्म ७८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा भारत, चीन लगायत विभिन्न तेस्रो मुलुकमा निर्यात गरेको थियो । जुन चालु आवको सोही अवधिमा आइपुग्दा १५ अर्ब ९४ करोड रुपैयाँले बढेर ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, सो अवधिमा आयात १३.१२ प्रतिशतले वृद्धि भएको विभागले उल्लेख गरेको छ । गत आवको चैत मसान्तसम्म नेपालमा ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जुन चालु आवको सोही अवधिमा १ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँले वृद्धि भई ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

१० खर्ब बढीको व्यापार घाटा, १५३ देशमा व्यापार गर्दा १२७ मा घाटा

आयातको तुलनामा निर्यात बढ्न नसकेको कारण खर्बौको अन्तर्राष्ट्रिय व्यापारघाटा खेप्दै आएको तथ्यांकले देखाएको छ । सो अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ बढी व्यापार घाटा खेपेको छ ।

हाल नेपालले १ सय ५३ वटा देखमा व्यापार गरिरहेको छ । देश भित्र उत्पादन भएका आन्तरिक उत्पादन निर्यात र यी मुलुकबाट आयात गर्दा १२७ वटा देशबाट भने नेपाललाई घाटा रहेको तथ्यांकले देखाएको छ । जसमा नेपालले १ लाख रुपैयाँमाथि देखि ७ खर्ब २४ अर्ब रुपैयाँसम्म व्यापार घाटा व्याहोरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको चैत मसान्तसम्म नेपालले सबैभन्दा बढी भारतबाट र सबैभन्दा थोरै लाओसबाट व्यापार घाटा खेपेको छ । साथै, दोस्रोमा चीन, तेस्रोमा साउदी अरबबाट बढी व्यापार घाटा भएको छ ।

नेपालले व्यापार घाटा भएका टपटेन मुलुकहरु

नेपालले चैत मसान्त उच्च व्यापार घाटा खेपेको १० मुलकहरुमा भारत,चीन, यूएई, अर्जेन्टिना, क्यानाडा, युक्रेन, इन्डोनेसिया, अष्ट्रेलिया, कोरिया रिपब्लिक र दक्षिण अफ्रिका रहेका छन् ।

भारतमा ६८ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्दा ७ खर्ब २४ अर्ब ९४ करोड रुपैयाँ बढी आयात गरी ६ खर्ब ५६ अर्ब ५१ करोड रुपैयाँ व्यापार घाटा खेपेको हो ।

यसैगरी, चीनमा ७९ करोड रुपैयाँ ६४ लाख रुपैयाँ बराबरको निर्यात हुँदा १ खर्ब ६४ अर्ब १३ करोड रुपैयाँ बराबरको आयात भई १ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँ बराबरको नेपाललाई व्यापार घाटा भएको छ ।

साथै, यूएईबाट चैत मसान्तबाट नेपालले २७ अर्ब १९ करोड रुपैयाँ बराबरको आयात गर्दा ३२ करोड ५ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भई २६ अर्ब ८७ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

अर्जेन्टिनाबाट नेपालले चैत मसान्तसम्म २४ अर्ब ४१ करोड रुपैयाँको वस्तु तथा सेवा आयत गर्दा ४ लाख २५ हजार रुपैयाँको मात्र नियात् गरी २४ अर्ब ४० करोड ९६ लाख रुपैयाँ व्यापार घाटा खेपेको छ ।

क्यानाडाबाट चैत मसान्तसम्म नेपालले १२ अर्ब ४६ करोड रुपैयाँ बराबरको आयात भएको थियो । तर सो अवधिमा नेपालबाट ६८ करोड ७७ लाख रुपैयाँको मात्र निर्यात भई ११ अर्ब ७८ करोड रुपैयाँ बढी व्यापार घाटा भएको छ ।

यस्तै, युक्रेनबाट ११ अर्ब ७२ करोड रुपैयाँ बराबरको आयात र २० लाख ८५ हजार रुपैयाँ बराबरको निर्यात हुँदा ११ अर्ब ७२ करोड रुपेयाँ व्यापार घाटा र इन्डोनेसियाबाट ११ अर्ब ६२ करोड रुपैयाँ बराबरको आयात र २६ करोड २६ लाख रुपैयाँ बराबरको निर्यात हुँदा ११ अर्ब ३५ करोड रुपैयाँ व्यापार घाटा नेपाललाई भएको छ ।

चैत मसान्तसम्म अष्ट्रेलियाबाट नेपालले १० अर्ब २३ करोड रुपैयाँ बराबरको आयात गर्दा ८५ करोड ९९ लाख रुपैयाँको निर्यात गरी ९ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटा र कोरियाबाट ८ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात गर्दा १४ करोड ९० लाख रुपैयाँको नियात् गरी ८ अर्ब ६१ करोड रुपैयाँ नेपाललाई व्यापार घाटा भएको छ ।


पुष्प दुलाल