अर्थमन्त्रीलाई जसपाको सुझावः बजेट बनाउँदा कोरोना खोप किन्न पर्याप्त बजेट छुट्याउनुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसदले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
उनीहरुले खोपलगायत स्वास्थ्य सामग्रीमा पर्याप्त बजेट छुट्याउनुपर्ने र प्रदुषण नियन्त्रणका प्रयास गरिनुपर्ने सुझाव दिएका हुन् ।
बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग जसपा सांसदहरुले गरेको पूर्वबजेट छलफल तथा परामर्शमा स्वास्थ्य र शिक्षालाई नै बजेटले पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिएको छलफलमा सहभागि पूर्व सहरी विकास मन्त्री तथा जसपा नेता मोहम्मद ईस्तियाक राईले बताए ।
‘अहिले महामारीको बेला सबै नागरिकको ज्यान जोगाउने विषयमा सरकारले सोच्नुपर्यो, भ्याक्सिनको पर्याप्त व्यवस्था हुनुपर्यो भन्ने सुझाव दिएका छौं,’ राईले क्लिकमान्डुसँग भने ।
महामारी नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गर्नुपर्ने र बजेट अभावकै कारण कुनै स्वास्थ्य सामग्री अभावको अवस्था भोग्नु नपरोस भनेर सुझाव दिइएको पनि उनले बताए ।
त्यस्तै, रासायनिक मल अभावको समस्या हुन नदिन मल खरिद तथा वितरण व्यवस्थित गर्नुपर्ने, चुरे क्षेत्रको दोहन भइरहेकोमा त्यसको संरक्षण हुनुपर्ने, वातावरणीय प्रदुषण नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्ने र विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन तथा प्रवद्र्धन गरिनुपर्नेलगायतका विषय जसपाले दिएको सुझावमा अटाएका छन् ।
विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्न राज्यको अहिलेको नीति परिवर्तन गरिनुपर्ने सुझाव जसपाले दिएको पनि राईले बताए ।
‘विद्युतीय सवारी साधनमा अहिले रहेको करको दरलाई पनि हेरफेर गरेर सवारी साधनको मूल्य र सुविधा हेरेर राजश्व निर्धारण हुनुपर्छ,’ उनले भने ।
त्यस्तै सरकारले लोकप्रिय बजेट भन्दा वास्तविकतामा आधारित बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिइएको पनि राइको भनाइ छ ।
‘बजेट छर्नेभन्दा पनि दायित्व सिर्जना भइसकेका र स्रोत सुनिश्चितता भएको कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । कम्तीमा शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट प्रभावकारी कार्यान्वयन भए–नभएको बारे सम्बन्धित निकायले गहन अनुगमन गर्ने संयन्त्र बनाइनुपर्छ,’ उनले भने ।