५ देखि १७ % ब्याजदरमा अटोलोन, कुन बैंक तथा वित्त कम्पनीले कति ब्याजदरमा दिन्छन् ?



काठमाडौं । नेपाली नयाँ वर्ष लागेसँगै विभिन्न सवारी बिक्री कम्पनीहरुले आफ्ना प्रोडक्सहरुमा अफर ल्याएका छन् । ग्राहकलाई आर्कषित गर्न नगद छुट, फाइनान्स, एक्सचेन्ज, लयातका विभिन्न योजना ल्याएका हुन्छन् ।

यस्ता योजनामध्ये ग्राहक सबैभन्दा बढी आर्कषित हुने भनेको फाइनान्सका सहज सहुलियत अफरमै हो । जसकारण अधिकांश सवारी साधान बिक्रेता कम्पनीले बैंक तथा वित्त कम्पनीहरुसँग सहकार्य गरी ग्राहकलाई आर्कषक फाइनान्सियल अफर गरेका हुन्छन् ।

कम्पनीहरुले गर्ने शुन्य डाउनपेमेन्टदेखी लिएर शुन्य ब्याजदरसम्मका अफरमा ग्राहक सजिलै आकर्षित भइरहेका हुन्छन् । तर, यस्ता अफरमा आकर्षित भएर फाइनान्समा सवारी साधन खरिद गर्ने कतिपय ग्राहक पछुताउनु समेत परिरहेको हुन्छ । त्यो भनेको फाइन्नान्समा सवारी खरिद गर्दा सम्बन्धित बैंक तथा वित्त कम्पनीको सवारी साधान कर्जाको ब्याजदर नबुझ्दा नै हो ।

कुनै पनि सवारी साधान बिक्रेता कम्पनीले फाइनान्समा सवारी खरिदका लागि अफर गर्छ भने सबैभन्दा पहिला त्यो कम्पनीले कुन बैंक तथा वित्त कम्पनीसँग सहकार्य गर्छ ? थाहा पाउन आवश्यक छ । त्योसँगै ती बैंक तथा वित्त कम्पनीले सवारी साधान कर्जामा तोकेको ब्याजदर र सोको अवधिसमेत जान्न आवश्यक हुन्छ ।

तर, बैंक तथा वित्त कम्पनीरुले अटो लोनका प्रोडक्टअनुसार ब्याजदर भने फरक–फरक निर्धारण गरेका हुन्छन् ।

आज हामीले कुनै बैंक तथा वित्त कम्पनीले कति ब्याजरमा सवारी कर्जा प्रवाह गरिरहेका छन्, सोको जानकारी उनीहरुले सार्वजनिक गरेका र आफ्नो वेवसाइटमा राखेका ब्याजदरको विवरणबाट एकमुष्टमा दिएका छौं ।

वाणिज्य बैंकहरुको सवारी कर्जा ब्याजदर

हाल सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुले अटो लोन प्रवाह गरी रहेका छन् । बैंकहरुले समयावधि निर्धारण गरी फिक्स्ड ब्याजदरमा र परिवर्तित दुवै प्रकारका ब्याजदरमा अटो लोन प्रवाह गरेका छन् । जसमा बैंकहरुले ३ वर्षदेखी १० वर्षसम्म फिक्स्ड ब्याजदरमा अटोलोन प्रवाह गरेका छन् ।

वाणिज्य बैंकहरुतर्फ सबैभन्दा सस्तो ब्याजदरदरमा नबिल बैंकले सबैभन्दा महंगो ब्याजदरमा बैंक अफ काठमाण्डूले अटोलोन प्रवाह गरेका छन् । नबिल बैंकले परिवर्तित ब्याजदरमा अटोलोन ५.७६ प्रतिशतदेखि १०.७६ प्रतिशतसम्म मासिक ब्याजदरमा प्रवाह गरिहेको छ । बैंक अफ काठमाण्डूले परिवर्तित ब्याजदरमा मासिक ११.४९ प्रतिशत ब्याजदरमा अटो लोन प्रवाह गरिरहेको छ ।

फिक्स्ड ब्याजदरतर्फ भने सबैभन्दा सस्तो ब्याजदरमा एनआइसी एशिया बैंकले र सबैभन्दा महंगो ब्याजदरमा पनि एनआइसी एशिया बैंक र नेपाल एसबिआई बैंकले अटो लोन प्रवाह गरिरहेको छ ।

एनआइसी एशिया बैंकले १० वर्ष अवधिका लागि ६.६५ प्रतिशतदेखि १३.६५ प्रतिशत र सोही समयावधि निर्धारण गरी १४ प्रतिशत ब्याजदरमा अटो लोन प्रवाह गरिरहेको छ । साथै, नेपाल एसबीआई बैंकले पनि १४ प्रतिशत ब्याजदरमै १० वर्षको लागि अटो लोन प्रवाह गरिरहेको छ ।

वाणिज्य बैंकहरुकोे फिस्क्ड र परिवर्तित ब्याजदरका अटो लोन (सूची)

विकास बैंकहरुको सवारी कर्जा ब्याजदर

राष्ट्रियस्तर र क्षेत्रियस्तरका गरी हाल १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । जसमध्ये १४ वटा विकास बैंकले फिक्स्ड र परिवर्तित ब्याजदरमा अटो लोन प्रवाह गरिरहेका छन् । अटोलोन प्रवाह गर्ने विकास बैंकहरुमा परिवर्तिततर्फ सबैभन्दा सस्तो एक्सेल डेभलपमेन्ट बैंकले र सबैभन्दा महंगो ब्याजदरमा लुम्बिनी विकास बैंकले कर्जा प्रवाह गरेका छन् ।

एक्सेलले मासिक ७.०३ प्रतिशतदेखि १४.०३ प्रतिशतसम्म अटो लोन प्रवाह गर्दा लुम्बिनी विकास बैंकले मासिक १४.१६ प्रतिशत ब्याजदरमा अटोलोन प्रवाह गरिरहेको छ ।

यस्तै फिक्स्ड ब्याजदरतर्फ ४ वटा विकास बैंकले ३ वर्षदेखि १० वर्षसम्मका फिक्स्ड ब्याजदरमा अटो लोन प्रवाह गरिरहेका छन् । जसमध्ये सबैभन्दा महंगो लुम्बिनी विकास बैंकले ५ वर्षका लागि १२.५० प्रतिशत र सबैभन्दा सस्तो पनि लुम्बिनीकै ५ वर्षका लागि ८.९२ प्रतिशत ब्याजदर रहेको छ ।

विकास बैंकहरुकोे फिस्क्ड र परिवर्तित ब्याजदरका अटो लोन (सूची)

फाइनान्स कम्पनीहरुको सवारी कर्जा ब्याजदर

हाल २२ वटा वित्त कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये ११ वटा वित्त कम्पनीले मात्र अटो लोन प्रवाह गरिरहेका छन् । अटोलोन प्रवाह गर्ने वित्त कम्पनीहरुमा परिवर्तित ब्याजदर सबैभन्दा सस्तो सिर्जना फाइनान्सले र सबै महंगो जानकी फाइनान्सले प्रवाह गरेका छन् ।

सिर्जना फाइनान्सले मासिक ८.२९ प्रतिशतदेखि १५.०४ प्रतिशतसम्म अटो लोन प्रवाह गर्दा जानकी फाइनान्सले १५ प्रतिशतदेखि १७ प्रतिशतसम्म मासिक ब्याजदरमा कर्जा प्रवाह गरिहेको छ ।

यस्तै, फिक्स्ड ब्याजदरतर्फ हालसम्म ५ वटा फाइनान्स कम्पनीले मात्र ३ वर्षदेखि १० वर्षसम्मका अटो लोन प्रवाह गरिरहेका छन् । जसमा सबैभन्दा सस्तो र महंगो ब्याजदरमा मञ्जुश्री फाइनान्सले नै १० वर्षका लागि ८.३२ प्रतिशतदेखि १५.३२ प्रतिशतसम्म प्रवाह गरेको छ ।

फाइनान्स कम्पनीहरुको फिस्क्ड र परिवर्तित ब्याजदरका अटो लोन (सूची)


क्लिकमान्डु