महालक्ष्मी विकास बैंकको सीइओमा बोधराज देवकोटा नियुक्त
काठमाडौं । येवा बैंकर बोधराज देवकोटा महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिले देवकोटालाई आज (चैत १) देखि लागू हुनेगरी ४ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गरेको हो । भोलि सोमबारदेखि उनले सीइओको कार्यभार सम्हाल्नेछन् ।
देवकोटा यसअघि सिटिजन्स बैंकको डेपुटी सीइओ थिए । चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक छाडेका उनी महालक्ष्मीको सीइओ बनेका हुन् ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।
देवकोटासँग बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेको अनुभव छ । सिटिजन्स बैंक आउनुभन्दा पहिले नेपाल बैंकमा काम गरेका थिए ।