विराटचोक र दमकमा ‘तीन तारे’ स्तरको होटल ‘नेपालीरिका’ सञ्चालनमा, ६० करोड लगानी



काठमाडौं । प्रदेश १ मा तीन तारेस्तरका दुई होटल सञ्चालनमा आएका छन् ।

पूर्वाअञ्चल लुब ओइल (पीएलओ)का प्रवद्र्धकहरुको लगानीमा मोरङको विराटचोक र झापाको दमकमा ‘नेपालीरिका’ तीन तारे होटल निर्माण भएको हो ।

यी दुई होटल २०७७ माघदेखि नै सफ्ट लन्च गरी सञ्चालनमा ल्याइएको सञ्चालक कृष्ण दुलालले जानकारी दिए । २०७८ बैशाखबाट वृृहत् कार्याक्रम आयोजनागरी होटलको उद्घाटन गर्ने योजना बनाइएको दुलाले बताए ।

हालसम्म होटल निर्माण गर्न करिब ६० करोड रुपैयाँ खर्च भइसकेको छ । मोरङको विराटचोकको होटल एक विगाह र झापाको होटल १५ कठ्ठा जमिनमा निर्माण भएको छ ।

‘पछिल्लो दशकमा बिराटचोकमा र दमकमा अत्याधिकरुपमा बजार बिस्तार भइरहेको छ, प्रदेश १ मा अहिलेसम्म सुविधासम्पन्न होटेल छैनन्,’ सञ्चालक दुलालले भने, ‘त्यसैले हामीले तीन तारे सरहको सुविधा दिने होटल निर्माण गरेका हौं ।’

होटल सञ्चालक दुलाल

होटलको ब्राण्डिङ र मार्केटिङमा धेरै जोड नदिइए पनि सफ्ट लन्चको समयदेखि नै उपभोक्ताको उत्साहजन उपस्थिति देखिएको दुललाले बताए ।

औपचारिक उद्घाटपछि भने कम्पनीले ब्राण्डिङ र मार्केटिङमा काम गर्नेछ । सफ्ट लन्चको अवधिमा उपभोक्ताबाट आएको सकारात्मक प्रक्रियाबाट आफू उत्साहित भएको उनको भनाइ छ ।

झापा, मोरङ र सुनसरीमा २५/३० लाख जनसंख्या छ । होटलबाट बिराटनगर एयरपोर्ट र भारत पनि नजिकै पर्छ । तर, यो क्षेत्रमा स्तरीय होटल नहुँदा एउटा राम्रो कार्यक्रम आयोजना गर्न पनि अन्यत्रै जानु पर्ने अवस्था छ । नेपालीरिकाबाट भारतीय उपभोक्ताले पनि सेवा लिन सक्ने उनको दाबी छ ।

यी दुई होटलमा सूविधासम्म ५३ कोठा र स्विट कोठा छन् । २/२ वटा रेष्टुरेन्ट र बार छ । अत्याधुनिक भवनमा प्रयाप्त पार्किङ, स्वीमिङ पुल, जिमहल र गार्डेन पनि छ । एक हजार जनाको क्षमता भएको ब्याकेट र कन्फरेन्स हल रहेको दुलालले बताए ।

‘यी होटेलले प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने छ’, दुलालले भने, ‘स्तरीय होटलका अभावले प्रदेशमा आउने आन्तरिक तथा बाह्य पर्यटक अन्यत्रै मोडिने खतरा थियो ।’

होटल सञ्चालनमा आएसँगै पर्यटकको बसाई प्रदेश १ मा लम्बिने उनले विचार व्यक्त गरे ।

प्रदेश १ मा पछिल्ला वर्षहरुमा होटेल खोल्ने क्रम बढ्दो छ । केही वर्षअघिसम्म तारे स्तरका होटल नभएको प्रदेश १ मा पछिल्ला वर्षहरुमा आधा दर्जनभन्दा बढी तारेस्तरका होटल निर्माणाधीन अवस्थामा छन् ।


पुष्प दुलाल