कोटेश्वर-जडिबुटीको जाम हटाउन धमाधम सडक फराकिलो पारिँदै, अब ७ लेनको



काठमाडौं । कोटेश्वर-जडिबुटी सडक खण्ड फराकिलो हुने भएको छ । हाल सञ्चालनमा रहेको सडकको दक्षिणतर्फ दुई लेन र उत्तरतर्फ एक लेन विस्तार गरिनेछ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीका अनुसार कोटेश्वर-जडिबुटी सडक खण्ड ७ लेनमा विस्तार गर्न लागिएको हो ।

सडक विस्तारका लागि काठमाडौं डिभिजनले ठेक्का पनि लगाईसकेको छ । टुन्डी-सुसन कन्ट्रक्सन जेभीले सडक विस्तारको जिम्मा पाएको छ ।

चालु आर्थिक वर्षमै सडक विस्तार सम्पन्न गर्नेगरी टुन्डी-सुसन कन्ट्रक्सन जेभीले २०७७ माघमा करिब ८ करोड रुपैयाँमा ठेक्का पाएको हो । अहिले धमाधम निर्माण भइरहेको छ ।

एक दशकअघि जापानी सहयोग नियोग (जाइका)को सहयोगमा कोटेश्वर-सूर्यविनायक सडक विस्तार गरिएको थियो । यो सडक खण्ड १२ किलोमिटर लामो छ । तत्कालिन समयमा कोटेश्वर–सूर्यविनाय सडक ६ लेनमा विस्तार हुँदा पनि कोटेश्वर-जडिबुटी खण्ड भने ४ लेनमा मात्र विस्तार गरिएको छ ।

यो सडक खण्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्ने भएकाले तत्कालिन समयमा सडक चौडा बनाउन सकिएको थिएन । नागरिक उडड्यान प्राधिकरणले सडक विस्तारका लागि जग्गा उपलब्ध गराउने सहमति दिएसँगै विस्तार प्रक्रिया अघि बढाइएको प्रमुख नेपालीले बताए ।

निर्माण भएको केही समयमा भत्काउन नपरोस् भनी सडकमा बिच्छ्याउने संरचना पहिले नै राखिनेछ । यसका लागि विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थासँग समन्वयमा संरचना निर्माण भइरहेको छ ।

सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ ।

‘साइट क्लियरिङको काम तीब्र गतिमा अघि बढाइएको छ, उत्तरतर्फ एउटा घरसँग मुआब्जा विवाद सल्टिएको छैन, घर धनीसँग निरन्तर सम्पर्क गरिरहेका छौं,’ नेपालीले भने, ‘मुआब्जा विवाद सल्टाउन प्राविधि प्रतिवेदन बन्ने क्रममा छ ।’

मुआब्जाको टुंगो लागेसँग विस्तार प्रक्रियाले तीब्रता पाउने उनको विश्वास छ ।

सडक यस्तो हुन्छ

कोटेश्वर-जडिबुटी सडक ४ लेनको छ । यो सडक खण्डमा काठमाडौं डिभिजनले ३ लेन थप गर्नेछ । उत्तरतर्फ एक लेन र दक्षिणतर्फ दुई लेन थप हुनेछ । उत्तरतर्फको लेन कोटेश्वरबाट जडिबुटी जाने सवारी गुड्ने छन् भने दक्षिणतर्फबाट ललितपुर जाने सवारी गुड्ने छन् ।

मनहरा खोला पनि दुई वटा पुल निर्माण भइरहेको छ । सडक विभाग पुल महाशाखाले पुल निर्माण गरिरहेको छ ।

सानो ठिमी-पेप्सीकोला-जडिबुटी आउने सवारीलाई पेप्सीकोलातर्फ नआई जडिबुटी पुलमा ल्याउने योजनामा काठमाडौं डिभिजन रहेको छ । यसका लागि जाइकाको सहयोगमा मनहरा करिडोर प्रयोगमा ल्याउने र आवश्यक स्थानमा पुल तथा अन्डरपास निर्माण गर्ने विषयमा अध्ययन गरिरहेको छ ।

जामको विकल्प सार्वजनिक यातायात

सडकको चौडा कम हुँदा सवारीको अधिक चाप भएर कोटेश्वर-जडिबुटी खण्डमा लामो समयसम्म जाम हुने गरेको छ । अहिलेको सडक विस्तार अल्पकालीन समाधान हो ।

सडक विस्तारले ट्राफिक जाम पूर्णरुपमा अन्त्य नगरे पनि धेरै हदसम्म भने सहजिकरण गर्नेछ । प्रत्येक वर्ष सवारीसाधन थपिने क्रमम बढ्दो छ ।

बढ्दो सवारी चापलाई समयमै नियन्त्रण गर्न नसकिए सडक जति चौडा गरे पनि ट्राफिक जाम अन्य नहुने ट्राफिक इन्जिनियर आशिष गजुरेल बताउँछन् ।

सडक चौडा पार्नेतर्फ भन्दा पनि सरकारको ध्यान सार्वजनिक यातायात व्यवस्थापन गर्नेतर्फ हुनुपर्ने गजुरेलको भनाइ छ । कोटेश्वर-सूर्यविनाय सडक फराकिलो हुँदा सुरुवाती २/३ वर्षसम्म खासै जाम भएको थिएन ।

५/६ वर्षदेखि कोटेश्वर-जडिबुटी सडक खण्ड जापको पर्याबाची शब्द नै बनिसकेको छ ।

‘जाम नहुने शहर हुँदैन, सरकारले इच्छाशक्ति देखाएमा जाम कम गर्न सकिन्छ, सार्वजनिक यातायातको प्रयोग बढाउनुपर्छ’, गजुरेलले भने सार्वजनिक यातायात यात्रुमैत्री छैन, निजी क्षेत्रको मात्र लगानी भएकाले नाफामुखी छन् ।’

यातायात क्षेत्र नाफामुखी नभई सेवामुखी भएको उनको भनाइ थियो ।


पुष्प दुलाल