प्रभु बैंकको नयाँ ब्याजदर, ९.९९% फिक्स्ड ब्याजदरमा घर, सवारी कर्जा



काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले फागुन १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । साथै बैंकले कल डिपोजिटमा १ प्रतिशतमाथि ब्याजदर निर्धारण गरेको छ ।

हाल बैंकले १६ प्रकारका साधारण बचतखाता सञ्चालन गरिरहेको छ । भने, ५ प्रकारका विदेशी मुद्रा बचत खाता बैंकले सञ्चालन गरेको छ ।

बैंकले मुद्दति खातामा व्यक्तिगत तर्फ ३ महिनादेखि ६ महिनासम्मलाई ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मलाई ६.५० प्रतिशत र १ वर्षभन्दा माथि ७ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

साथै संस्थागत मुद्दतितर्फ ३ महिनादेखि ६ महिनासम्मलाई ४.६० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मलाई ५.५० प्रतिशत र १ वर्षभन्दा माथि ६.६० प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

यसैगरी, बैंकले कर्जातर्फ ७.२४ प्रतिशत वेसरेट र ३.३४ प्रतिशत स्प्रेडदर कायम गरी ब्याजदर निर्धारण गरेको छ । हाल बैंकको ३० प्रकारका कर्जाका प्रडक्टहरु छन् । जसमा बैंकले न्यूनतम ९.२४ प्रतिशतदेखि अधिकतम ११.२४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकले सवारी कर्जा, सेयर धितो कर्जा, ओभरड्राफ्ट, डिमाण्ड लोन ११.२४ प्रतिशतमाथि ब्याजदरमा दिने उल्लेख गरेको छ । साथै, ५ वर्षदेखि २५ वर्षसम्म घर कर्जाको ब्याजदर समेत ११.२४ प्रतिशत माथि हुने बैंकले जनाएको छ ।

बैंकले फिक्स्ड ब्याजदरतर्फ ५ वर्षसम्मको घर कर्जा ९.९९ प्रतिशत, अटो लोन १०.२४ प्रतिशत र अन्य पर्सनल लोन १०.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, ५ वर्षदेखि १० वर्षसम्मको घर कर्जा १०.९९ प्रतिशत, अटो लोन ११.२४ प्रतिशत र अन्य पर्सनल लोन ११.९९ प्रतिशत फिक्स्ड ब्याजदर बैंकले निर्धारण गरेको छ ।


क्लिकमान्डु