काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत



काठमाडौं । नेपाल बैंकर्स संघ काठमाडौं उपत्यका बाहिरवाट पनि सुन वितरण गर्न सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्ष संघका पदाधिकारीहरुबीच बिहिबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र बैंकर्ष संघबीचको छलफलका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका नव निर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका वाहिरवाट सुन वितरण नगरिँदा ब्यवसायीहरुले दुःख खेप्नु परेको भन्दै उपत्यका बाहिरका तोकिएका स्थानहरुबाट समेत सुन वितरणको व्यवस्था मिलाउन आग्रह गरे ।

त्यसक्रममा बैंकर्ष संघका अध्यक्ष भुवनकुमार दाहाल लगायत संघका पदाधिकारीहरुले व्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताए ।

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने बिषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपी सो बिषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कराण उपत्यका वाहिरका ब्यवसायी सुन खरिदका लागि काठमाडौंमा आउनुपर्ने झन्झट कायम छ ।

छलफलका क्रममा ब्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरुबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यारुलाई सल्टाएर सहज रुपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पुरागर्न आफूहरु तयार रहेको संघका पदाधिकारीहरुले बताएका छन् । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार बैंकर्ष संघको सिफारिसमा बैंकहरुले विदेशवाट कच्चा सुनको आयात गरी महासंघको सिफारिसमा व्यवसायीहरुलाई सुन उपलब्ध गराउँदै आएको छ ।

मोफसलका जिल्लहरुवाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, मोफसलका जिल्लाहरुमा पनि सुनको स्टक राख्ने, बैंकहरु पिच्छे फरक फरक हुँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरिद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धिगरी पर्याप्त मात्रामा आपूर्ति व्यवसाय मिलाउन दुवै पक्षले पहल गर्ने लगायतका बिषयमा छलफल भएको थियो ।


क्लिकमान्डु