८ अर्बको आइपीओ ल्याउँदै गरेको पूर्वाधार विकास बैंकको सीइओमा खतिवडा नियुक्त



काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।

खतिवडालाई बैंकको पुस २८ गते बसेको सञ्चालक समिति बैंठक सीइओमा नियुक्त गरेको हो । उनी बैंकको सञ्चालक समितिमा थिए ।

गत मंसिर २७ गतेदेखि सीईओ अनिल ज्ञवालीको २ वर्षे कार्यकाल पछि सो पद रिक्त रहेको थियो । त्यसपछि बैंकको सञ्चालक समितिले डेपुटी सीइओ भूपेन्द्र पाण्डेलाई मंसिर २९ गतेदेखि निमित्त सीइओको जिम्मेवारी दिएको थियो ।

बैंकका नयाँ सीइओ खतिवडाले यसअघि विद्युत् नियमन आयोगको सदस्य र लगानी बोर्डमा पनि परामर्शदाताको रुपमा समेत काम गरिसकेका छन् ।

२० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकमा सरकारको १० प्रतिशत लगानी छ । बैंकमा संस्थापकको ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत सेयर संरचना छ । जसअनुसार बैंकले आइपीओ निष्काशन गर्दैछ ।

बैंकले ठूला आकारको निक्षेप संकलन तथा ठूला पूर्वाधारको क्षेत्रमा कर्जा प्रवाह गर्छ । बैंकको अध्यक्षमा अजुज अग्रवाल छन् । त्यसैगरी, सञ्चालक समिति सदस्यहरुमा चन्द्र ढकाल, श्रीकृष्ण नेपाल र लालमणि जोशी छन् ।


क्लिकमान्डु