कोरोना कहरमै विनोद चौधरीको सम्पत्ति झन्डै १२ अर्बले बढ्यो, भन्छन्- घट्दा चैं ठूलो चोट पर्छ



काठमाडौं । लकडाउनयता मात्रै नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति १० करोड अमेरिकी डलर अर्थात् ११ अर्ब ८० करोड नेपाली रुपैयाँले बढेको छ ।

फोर्ब्सको रियल टाइममा २०७६ चैत १० गते विनोद चौधरीको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् १ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ थियो ।

अहिले यो समाचार तयार पार्दासम्म फोर्ब्सको रियल टाइममा चौधरीको सम्पत्ति १ अर्ब ५० करोड डलर अर्थात् १ खर्ब ७७ अर्ब ८८ करोड नेपाली रुपैयाँ छ । जुन गत चैतको भन्दा ११ अर्ब ८० करोड रुपैयाँले बढी हो ।

प्रत्येक वर्षको मार्च महिनामा धनीहरुको सूची सार्वजनिक गर्ने फोर्ब्सले वास्तविक समय (रियल टाइम)मै विश्वका कुन धानड्को सम्पत्ति कति छ, कति घटबढ भइरहेको छ भन्ने तथ्यांक उपलब्ध गराउँछ ।

अघिल्लो मार्चको तुलनामा गत मार्चमा चौधरीको सम्पत्ति ३० करोड अमेरिकी डलरले घटेको थियो ।

सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचिमा सूचिकृत भएपछि चौधरीको सम्पत्ति भने एक वर्ष बाहेक हरेक वर्ष बढेको थियो ।

फोर्ब्सको रियल टाइमको सूचिमा सम्पत्ति बढेपछि धनी व्यक्तिको सूचीमा चौधरी १३६ स्थान अगाडी आएका छन् ।

लकडाउनअघि विश्वका १६४९औं धनी व्यक्ति रहेका उनी अहिले विश्वका धनाड्यहरुको सूचिमा १५१३औं स्थानमा छन् ।

फोर्ब्सको धनीहरुको सूचीमा हुने फेरबदलले नै आफ्नो व्यवसाय कता गइरहेको छ भन्ने ब्यारोमिटर भएको उनको भनाइ छ ।

‘फोर्ब्सले सम्पत्ति घटेको सूचि निकाल्दा साह्रै चोट पर्छ नि,’ चौधरीले भने, ‘बढेको निकाल्दा साह्रै खुसी लाग्छ ।’


पुष्प दुलाल