सहुलियतमा दिएको ऋण ब्याज तिरेर फिर्ता लिँदै राष्ट्र बैंक



काठमाडौं । हाल बैंकिङ प्रणालीमा १ खर्ब ३६ अर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ । जसमा ६४ अर्ब रुपैयाँ पुनरकर्जामार्फत् तरलता थप भएको हो ।

नेपाल राष्ट्र बैंकले हालसम्म ४४ वटा बैंक तथा वित्त कम्पनीबाट प्राप्त आवेदनको आधारमा ८२ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । जसमा ६४ अर्ब रुपैयाँ बैंक तथा वित्त कम्पनीले प्राप्त गरिसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कोभिड-१९ को प्रभावका अझै पनि बैंक तथा वित्तीय संस्थामा कर्जाको माग पहिलेको अवस्थामा आउन सकेको छैन । निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुँदा बैंकमा दिनहुँ अधिक तरलता बढ्दो छ । जसमा राष्ट्र बैंकले प्रवाह गरेको पुनरकर्जाले बैंकिङ प्रणालीमा थप तरलता बढाएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘पछिल्लो समयनै पुनरकर्जामार्फत् ६४ अर्ब रुपैयाँ अधिक तरलता प्रणालीमा थपिएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘तरलता ब्यवस्थापनमा वित्तीय उपकरणको प्रयोग केन्द्रीय बैंकले गरिरहेको छ ।’

प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको तर त्यसमा २७ वटा बैंक तथा वित्त कम्पनीले ७८ अर्ब १५ करोड रुपैयाँ बराबरको १ सय ९८ वटा आवेदन दिएको उनले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरिसकेको ऋणको आधारमा प्राप्त आवेदन अनुसार राष्ट्र बैंकले पुनकर्जा प्रदान गर्छ । त्यसमा ऋणीले तोकिएको ब्याजमा स्वीकृत पुनरकर्जाको प्रकार अनुसार १ वर्षसम्मको लागि छुट पाउँछन् । पुनरकर्जामार्फत् प्राप्त हुने रकम बैंक तथा वित्तीयमा थप कर्जा लगानीको स्रोत हुन्छ ।

हाल बैंकहरुमा माग अनुसारको कर्जा प्रवाह गर्न थप स्रोतको आवश्यकता भने छैन् । उनीहरुले ग्राहकमार्फत् संकलन गर्ने निक्षेप नै माग अनुसार कर्जा लगानी गर्न प्रयाप्त रहेको भट्टको भनाइ छ । तर पुनरकर्जामार्फत् बैंकहरुमा थप भएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले केही प्रतिशत ब्याज दिएर खिचेको उनले बताए ।

‘अहिले केही बैंकहरुले ग्राहकको पुनरकर्जा आवेदन बुझ्न आनाकानी गरेका छन् भन्ने कुरा सुनिन्छ,’ उनले थपे, ‘तर पुनरकर्जा मार्फत् प्राप्त हुने सहुलियतको रकमको ब्याज दिएर पुनः राष्ट्र बैंकले फिर्ता लिइरहेको छ ।’

सोही कारण बैंक तथा वित्त कम्पनीहरुलाई पुनरकर्जामार्फत् प्राप्त हुने रकमले ब्याज आम्दानी गर्न सहयोग राष्ट्र बैंकले गरेको उनको भनाइ छ ।

पुनरकर्जाको अवस्था

पुनरकर्जा कोषमा ४२ अर्ब ५ करोड रुपैयाँ उपलब्ध छ । तर राष्ट्र बैंकले उपलब्ध कोषको ५ गुणासम्म कर्जा प्रदान गर्न सकिने उल्लेख गरेको छ । सोही कारण राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५ करोड रुपैयाँ पुनरकर्जा एकमुष्ट, ग्राहक ऋणी अनुसार र लघुवित्त संस्थालाई प्रदान गर्ने जनाएको ।

जसमा कोषको क्षमताको ७० प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ एकमुष्ट बैंक तथा वित्त कम्पनीमार्फत्, २० प्रतिशत अर्थात् २१ अर्ब ५ करोड रुपैयाँ ग्राहक ऋणी अनुसार र १० प्रतिशत अर्थात् २१ अर्ब २ करोड लघुवित्त वित्तीय संस्थामार्फत् प्रवाह हुनेछ ।

राष्ट्र बैंकले पुनरकर्जा किस्ता/किस्तामा वितरण गरिरहेको छ । गत मंसिर १५ गते आवेदनको सुचना प्रकासित गरी पहिलो किस्ताको लागि आवेदन संकलन गरिसको छ । जसमा ४० हजार ९ सय ८३ जना ऋणीको ८४ अर्ब रुपैयाँ बढी पुनरकर्जाको आवेदन प्राप्त भएको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

‘दोस्रो किस्ताको लागि पुस १५ गते आह्वन गरेका छौँ,’ उनले क्लिकमाण्डूसँग भने, ‘दोस्रो किस्ता लिन चाहने ऋणीले माघ १५ गतेसम्म आवेदन दिनसक्छन्, पहिलो किस्ताको आवेदन अनुसार पुनरकर्जा वितरण भइसकेपछि दोस्रो किस्ताको पुनरकर्जा वितरण हुन्छ ।’

पहिलो किस्तामा प्राप्त आवेदनमा स्वीकृत भएको कर्जामा ३३ हजार ६ सय १० जना ऋणीले १५ लाख रुपैयाँ सम्मको पुनरकर्जा उपयोग गरेका र ७ हजार ३ सय ७३ जना ऋणीले १५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको पुनरकर्जा उपयोग गरेको उनले जानकारी दिए ।

राष्ट्र बैंकमा हालसम्म ३३ हजार ६ सय १० जना ऋणीलाई २३ अर्ब ६४ करोड रुपैयाँ लघु, साना तथा मझौला पुनरकर्जा, १ हजार ४ सय ८ जना ऋणीलाई ८ अर्ब रुपैयाँ विशेष पुनरकर्जा र ५ हजार ९ सय ६५ जना ऋणीको साधारण पुनरकर्जा वापत १८ अर्ब ३७ करोड रुपैयाँ बराबरको आवेदन प्राप्त गरेको छ ।

जसमा हालसम्म २ सय २१ ऋणीले ३२ अर्ब ६३ करोड रुपैयाँ ग्राहक ऋणी अनुसार पुनरकर्जा प्राप्त गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । प्रवाहित कर्जामा ६३ अर्ब १७ करोड रुपैयाँ बक्यौता रहेको छ ।

पुनरकर्जाको स्रोत

राष्ट्र बैंकले पुनरकर्जाको कोष बैंकमा विद्यमान रहेको विकास कोषको रकमबाट गरिरहेको छ । साथै, बैंक सञ्चालक समीतिले तोकेको बैंकका अन्य कोषको रकम समेत प्नरकर्जाको लागि प्रयोग गरेको छ ।

यस बाहेक विभिन्न दातृ निकायबाट प्राप्त भई नेपाल सरकारबाट स्वीकृति प्रदान भएका रकम र सरकारले प्रदान गरेको रकमबाट पुनरकर्जाको व्यवस्थापन गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।


पुष्प दुलाल