एनआइसी एशिया र प्राइम बैंकमाथि ७ वटा गंभीर आरोप, छानविन गर्दैछौंः राष्ट्र बैंक



काठमाडौं । आक्रमक बजार विस्तार गरेर सबैलाई चकित पारेको एनआइसी एशिया बैंक र कन्जरभेटिभ मानिएको प्राइम बैंकमाथि गंभीर प्रकृतिका आधा दर्जन बढी आरोप लागेका छन् ।

खासगरी, यी दुई बैंकमाथि राष्ट्र बैंकका नीति/निर्देशन लत्याएको आरोप लागेको हो ।

यी बैंकले राष्ट्र बैंकको नीति निर्देशनको अक्षरस पालना गर्ने बैंकहरुलाई समस्यामा पारेको र बैंकिङ प्रणालीमा खतरानाक जोखिम सिर्जना गरेको आरोप लगाउँदै कारबाही गर्न माग गर्दै विभिन्न निकायमा दर्जनौं उजुरी परेका छन् ।

यी बैंकले अन्धाधुन्ध कर्जा विस्तार गरेको र भावी दिनमा यसले बैंकिङ प्रणालीमाथि नै गंभीर जोखिम आउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

के के हुन् ती आरोप ?

१, नियमविपरित सञ्चालकलाई ऋण दिएको ।

२, कर सम्बन्धी कागजात पूरा नगरेको ।

३, ऋण–स्वपूँजी अनुपातसम्बन्धी राष्ट्र बैंकको निर्देशनको पालना नगरेको ।

४, दोहोरो वासलात भएका कम्पनीलाई पनि ऋण दिएको ।

५, व्यक्तिगत कर्जा प्रवाह गर्दा पालना गर्नुपर्ने नियमको पालना नगरेको ।

६, कर्जा सूचना केन्द्रसँग सम्बन्धी नियमहरु पालना नगरेको ।

७, जथाभावी सेवा शूल्क लिएकोलगायत ।

राष्ट्र बैंक भन्छ- छानविन गर्दैछौं

राष्ट्र बैंकका अधिकारीहरुले बैंकले दुख दिएका ग्राहकले सीधै राष्ट्र बैंकमा र अर्थ मन्त्रालय लगायतमा गुनासो गरेको बताएका छन् ।

बैंकहरु व्यवसाय बढाउने अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका कारण यस प्रकारको गुनासो पनि बढ्न थालेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘राष्ट्र बैंकको नीति निर्देशन लत्याउँदै कर्जा प्रवाह गरेको भन्दै गुनासोहरु आएका छन्, हामी छानविन गरिरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘हाम्रो छानविनमा उजुरीमा उल्लेख गरिएको कुरा पाइएको खण्डमा कानूनअनुसार कारबाही गर्छौं ।’

एनआइसी एशिया बैंकले ऋणीलाई असाध्यै दुःख दिएको भन्दै सबैभन्दा धेरै उजुरी परेको ती अधिकारी बताए ।

‘एनआइसी एशिया कम्ल्याइन्सको मामलामा निकै कम जोर देखिएको छ,’ स्रोतले भन्यो, ‘हामीले आन्तरिकरुपमा पनि बैंक व्यवस्थापनलाई बोलाएर पटक पटक सम्झाइबुझाइ गरेका छौं । सम्झाउँदा नसुध्रिनेलाई कारबाही हुन्छ ।’

बैंकविरुद्ध ऋणीको आन्दोलन

केहीदिन अघिमात्रै एनआइसी एशियाले धम्क्याएको भन्दै ऋणीहरु थापाथलीस्थित बैंकको मूख्य कार्यालय घेराउन गर्न पुगेका थिए ।

बैंकबाट पीडितहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।

यसरी बैंकविरुद्ध ऋणीहरु आन्दोलनमा उत्रिनु भनेको राष्ट्र बैंकको निरिहताले हो । राष्ट्र बैंक बलियो थियो भने ऋणीहरु यसरी आन्दोलनमा उत्रिनुपर्ने अवस्था नै आउने थिएन ।

मेगा, सनराइज, कुमारी, प्रभु, सेञ्चुरी, सिभिललाई बेसरेट भन्दा कममै ऋण दिएको आरोप

एनआइसी एशियाले बजार बिगारेपछि अरु बैंक पनि बजार बिगार्न प्रतिपर्धामा उत्रिएको गुनासो छ । मेगा, सनराइज, कुमारी, प्रभु, सेञ्चुरी, सिभिललाई बेसरेट भन्दा कममै ऋण दिएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको छ ।

त्यसैगरी केही बैंकले राष्ट्र बैंकले तोकेभन्दा बढी स्प्रेडदर प्रकाशित गरिरहेको प्रति पनि ध्यानाकर्षण गराइएको छ ।

राष्ट्र बैंकको नीति निर्देशनको अक्षरस पालना गर्ने बैंकहरुले व्यापार बढाउन सकिरहेका छैनन् ।

‘मेरो बैंकको भन्दा बढी बेस रेट भएको अर्को बैंकले मैलेभन्दा १ प्रतिशत सस्तो ब्याजमा ऋण दिएर मेरोबाट ३ अर्ब रुपैयाँ बढी ऋण गलेको छ,’ राष्ट्र बैंकको नीति निर्देशन अक्षरस पालना गर्दै आएको एक बैंकका सीइओले प्रश्न गरे, ‘यो खाले बैंकिङले हाम्रो बैंकिङ क्षेत्रलाई कहाँ पुर्याउला ?’


पुष्प दुलाल