१० महिनापछि सहज बन्दै तातोपानी नाका, ७९ करोड रुपैयाँको आयात



काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयसम्म बन्द भएको तातोपानी नाका पुष महिना शुरू भएसँगै सहज हुन थालेको छ । कोरोनाभाइरस संक्रमणको जोखिम भएको भन्दै चीनले नेपाली आयातकर्ताहरुलाई चिनियाँ क्षेत्रमा प्रवेश गर्न रोक लगाएपछि सुरु भएको अवरोध अहिले सहज हुन थालेको हो ।

तातोपानी नाका बन्द हुँदा हजारौं मालसामानको कन्टेनर नाकामा अड्किएका थिए । लामो समयसम्म पनि नाका सहज हुन नसक्दा व्यवसायीहरूले विरोध तथा सरकारसँग ध्यानाकर्षण गराएको थियो । साथै, उक्त नाका सहज हुन नसक्दा हजारौं व्यवसायी मारमा परेको उनीहरूको भनाइ थियो । तर, अहिले उक्त समस्या हटेको व्यवसायीहरू बताउँछन् ।

विगतको दिनमा दैनिक ५ देखि ८ वटा सम्म कन्टेनर नेपालतर्फ आइरहेको थियो । तर, अहिले तातोपानी नाकाबाट दैनिक १४ देखि १६ वटासम्म कन्टेनर भित्रिरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । यसले गर्दा व्यवसायीलाई राहत मिलेको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । साथै, हाल नेपालतर्फ भित्रिरहेको कन्टेनरको संख्या बढ्दै गएमा छिट्टै नाकामा रोकिएको सबै सामान नेपाली बजारमा आइपुग्ने उनको भनाइ छ ।

५ अर्बको मात्रै बस्तु आयात

वैदेशिक व्यापारमा भारतपछिको ठूलो योगदान रहेको चीनीयाँले नाका सहज नबनाउँदा आयात निर्यात पनि ह्रास आएको छ । चीनबाटै सुरु भएको कोरोना भाइरस उक्त नाकाका आबद्ध श्रमिकलाई नै कोरोना संक्रमण भएको र संक्रमणको जोखिम बढी भएकाले नाका बन्द गर्न बाध्य भएका थिए ।

तर, लामो समयको बन्दले भने नेपालका व्यवसायीहरूले दोब्बर तेब्बर महंगो भाडा तिरेर सामान आयात गरिरहेको थियो । सो अवधिमा भने चिनियाँ नाकाले तरकारी, खाद्य बस्तुलगायत अन्य सामाग्री मात्रै भित्रिन दिएका थिए । उक्त अवधिलाई मध्यनजर गर्दै कतिपय व्यवसायीले भने सिण्किेट लागु भएको पनि दाबी गर्दै आएका थिए ।

सामान्य अवस्था हुँदा नेपालमा चीनबाट उल्लेखनीय वस्तु आयात हुन्थ्यो । तर, कोरोना महामारीका कारण बन्द भएको अवस्थामा थोरै मात्रामा वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको अवधिमा तातोपानी नाकाबाट ७९ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जबकी अघिल्लो वर्ष २०७७/७८ को सोही अवधिमा ३ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

गत वर्षको तुलना गर्दा चालु आवमा २ अर्ब ५८ करोड १० लाख कमी हो । अवरोधसँगै नेपालको आयातमा यो नाकाको कुल हिस्सा ०.५० प्रतिशतबाट घटेर ०.१५ प्रतिशतमा झरेको छ । साथै, गत वर्ष उक्त नाकाबाट १३ करोड ७६ लाख बराबरको वस्तु निर्यात भएको थियो । तर, अहिले निर्यातमा शून्य रहेको छ ।

त्यस्तै, यो वर्ष साउनदेखि मंसिरसम्ममा चिनियाँ नाका रसुवागढीबाट ५ अर्ब १३ करोड ७९ लाख बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा उक्त नाकाबाट २१ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बराबरको आयात भएको थियो । जुन गत वर्षको तुलना गर्दा चालु आवमा १६ अर्ब ४५ करोड रुपैयाँ कमी हो ।

साथै, नेपालको आयातमा यो नाकाको कुल हिस्सा ४.०८ प्रतिशतबाट घटेर ०.९८ प्रतिशतमा झरेको छ । गत वर्ष रसुवा नाकाबाट ४५ करोड ५२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । अहिले शुन्य रहेको छ ।


क्लिकमान्डु