नक्सालको तरकारी बजारमा अब नगद बोकेर तरकारी किन्न जानु नपर्ने , क्यूआरबाट भुक्तानी गर्न सकिने



काठमाडौं । सामान्य तरकारी बजारमा तरकारी पनि डिजिटल कारोबारबाट खरिद गर्न पाइने भएको छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको शुरुआत गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किजि अदुवा खरिद गरि तरकारी बजारमा क्युआर पेमेन्टको सुरुवात गरेका हुन । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर मार्फत भुक्तानी गरेका छन।

नक्साल तरकारी बजारमा सानिमा बैंकको सक्रियतामा क्यूआर पेमेन्टको शुरुआत भएको हो । बजार क्षेत्रमा भायनेटले निशुल्क इन्टरनेट समेत उपलब्ध गराएको छ ।

गभर्नर अधिकारीले डिजिटल कारोबारलाई बढाउन अब देशैभर क्यासलेस कारोबार लैजाने बताए ।

‘कालिमाटी फलफूल तथा तरकारी बजार बल्खु जस्ता ठुला तरकारी बजारमा पनि चाडैं क्यासलेस कारोबार क्युआर कोडको सुरुवात हुन्छ,’  उनले भने, ‘पहिलो चरणमा नक्सालमा शुरु भए पनि चाडैं देशभर क्यास्लेस कारोबारको गर्ने योजना छ ।’

उनले पछिल्लो समय क्युआर कोड मार्फतको भुक्तानी मासिक रुपमा ३० प्रतिशतले बढेको जानकारी दिदै  कोरोना भाइरसको संक्रमण सुरु भएपछी नगद रहित अर्थतन्त्रको आवश्यकता बढेको बताए ।

सामाजिक र आर्थिक रुपान्तरणमा क्यासलेस कारोबार र प्रविधि मैत्री विधुतिय कारोबार विकास र विस्तारमा सरकार र राष्ट्र बैंकले विभिन्न योजना तथा कार्यक्रम बनाएर अगाडि बढिरहेको उनले जानकारी दिए ।

सोही क्रममा ब‌ैंकर्स संघका अध्यक्ष तथा सनिमा बैंकका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको अभियान सफल बनाउन सहयोग गर्ने सबै बैंकहरु हातेमालो गर्न तयार रहेको बताए । क्यास्लेस कारोबारले बैंकहरु खर्च समेत घटाउने हुँदा बैंकहरु यसको प्रोत्साहनमा सदैव सकारात्मक हुने उनको भनाइ छ । साथै सुरक्षित र भरपर्दो भएको कारण पनि ग्राहकले डिजिटल कारोबार नै रोज्न उनको सुझाव छ ।


क्लिकमान्डु