सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमणका रूपमा मनाइने
काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताएका छन् ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले दुई दिने विदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताए ।
नेपालको अर्थतन्त्रमा ७० प्रतिशत अर्थात् झण्डै ८० अर्ब विदेशी मुद्राआर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘अब कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’
आन्तरिक पर्यटन प्रवर्द्धन गर्नकै लागि २ दिने विदाको अवधारणा अगाडि ल्याइएको चर्चा गर्दै मन्त्री भट्टराईले यो अवधारणबारे विज्ञहरुसँग अझै छलफल र परामर्श भइरहेको बताए ।
‘यो निर्णय भइसकेको विषय हैन, अझै छलफलमै छ । सबै पक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्छौं,’ उनले भने, ‘तर कुनै पनि अवधारणा हिजो असफल भयो भनेकै आधारमा आज पनि असफल हुँदैन ।’
विज्ञहसँग छलफल गर्छौ, उचित निष्कर्ष निस्कियो भने अरु विदा कटौती गरेर पनि यो अवधारणा लागू गर्न सकिने उनकाे भनाइ छ ।
महामारीका कारण एक वर्षसम्म बन्दाबन्दीको अवस्थामा रहँदा मानिसमा उकुसमुकुस भएकाले अर्को वर्ष नेपालमा पर्यटनको बाँध फुट्न सक्ने पनि उनले बताए ।
‘ एक वर्षपछि नेपाल आउने पर्यटकको बाँध फुट्न सक्छ त्यसैले हामीले त्यसका लागि पूर्वतयारीका कामगरिरहनु जरुरी छ’ मन्त्री भट्टराईले भने ।
कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केही गरेन भनेर बाहिर सरकारको आलोचना हुने गरेको सन्दर्भ उल्लेख गर्र्र्दै मन्त्री भट्टराईले कुनै पनि देशको साधन, स्रोत कतिथियो र त्यसको परिचालन कतिभयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने धारणा राखे ।
‘यो महामारीको पूर्वानुमान मै हुँभन्ने सम्पन्न र ठूला देशहरुलाई पनि थिएन । कोभिडलाई लिएर आज अमेरिकी सरकारको पनि आलोचना भइरहेको छ । तर, हामी सँग जति साधन, स्रोत थियो, त्यसको भरपूर परिचालन गरेर काम गरेका छौं,’ उनले भने ।
कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकि अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानद्वारा प्रस्तुत कार्यपत्रमाथि मन्त्रालयका सहसचिवद्वय बुदिसागर लामिछाने, कोमप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र डा विजय पौडेलले टिप्पणी गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाका, निजी क्षेत्रका प्रतिनिधि साथै कर्मचारी का विभिन्न संघ संगठनका प्रतिनिधीहरुले पनि आआफ्ना धारणा राखेका थिए ।