सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै, स्रोत भन्छ- उचाइ बढेको छ
काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ । नेपाल र चीनका अधिकारीहरुले मंगलबार दिउँसो सगरमाथाको उचाइ संयुक्तरुपमा सार्वजनिक गर्ने भएका छन् ।
दुई देशका अधिकारीहरुले संयुक्त रुपमा सार्वजनिक गर्ने भएकाले हालसम्म नयाँ उचाइ गोप्य राखिएको छ । तर मन्त्रालय स्रोतका अनुसार उचाइ केही बढेको छ ।
यसअघि सन् १९५४ मा भारतको सर्वे विभागले सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर रहेको घोषणा गरेको थियो । जुन हालसम्म पनि कायम छ ।
सगरमाथाको उचाइ नेपाल र चीनले छुट्टाछुट्टै नाप्न शुरु गरे पनि उचाइ सार्वजनिक भने संयुक्तरुपमा गर्ने यसअघि नै सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल भ्रमण आएका बेलामा उक्त लिखित सहमति गरेर सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो । स्रोतका अनुसार चीन र नेपालले गरेको मापनमा सगरमाथाको उचाइ एउटै आएको थियो ।
मंगलबार दिउँसो पौने २ बजे शुरु हुने भर्चुअल कार्यक्रम नेपाल टेलिभिजन र नापी विभागको युट्युव च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने नापी विभागका प्रवक्ता दामोदर ढकालले जानकारी दिए ।
उनका अनुसार चीनबाट चिनियाँ अधिकारीहरु र नेपालका समकक्षी अधिकारीहरुले भर्चुअल कार्यक्रममार्फत् सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्नेछन् ।