बुध्द एयरको माउण्टेन फ्लाईट सुरु, एउटा किन्दा अर्को टिकट नि:शुल्क
काठमाडौं । लामो बन्दाबन्दीपछि बुध्द एयरले पुनः पर्वतीय उडान सुरु गरेको छ । स्थिर रहेको पर्यटन क्षेत्रलाई यसले केही हदसम्म गति दिने छ ।
आगामी शनिबारदेखि शुरु हुने माउण्टेन फ्लाईटको उडान करिब १ घण्टाको हुनेछ । काठमाडौं त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ । अझ ट्रेकिङ जान नसक्नेका लागि यो अफर प्रभावकारी हुने अपेक्षा रहेको छ ।
बुध्द एयरले यसका लागि ८ हजार ९ सय भाडा तोकेको छ । यसमा झ्यालसहित सँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालको लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुनेछ ।
टिकटका लागि बुध्द एयरको काउण्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न विज्ञप्तिमा भनिएको रहेछ ।