एफएनसीसीआईका नव निर्वाचित पदाधिकारी कसले के भने ?



काठमाडौं । उद्योग वाणिज्य महासंघको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले
सम्पुर्ण व्यवसायीलाई एक जुट बनाएर लैजाने प्रतिकृया दिएका छन् ।

ढकालले आफ्नो जीत भनेको व्यवसायीको जीत भएको प्रतिक्रिया दिए । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणा संगै आफुले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता दिए ।

‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आज देखि हाम्रो पक्षविपक्ष भन्दा पनि सम्पुर्ण नीजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जीत भनेको सम्पुर्ण व्यवसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ’ उनले भने ।

यस्तै एसोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए । उनले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

जिल्ला नगर तर्फको उपाध्यक्षमा बिजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैमा सवल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान वृद्धि लगायत तर्फ आफ्नो पहल हुने बताए ।

त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गरे ।

वस्तुगत तर्फको उपाध्यक्षमा बिजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफुले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाए । उनले लगानीको अवसर र वातावरण संगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताए ।

‘कोरोनाको कहर सकिएको छैन । विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबै भन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ’ उनले भने ‘सरकारसँग सिमित साधन र स्रोत छ । सरकारसंग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो ।’

त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुपर्यो । लगानी सुरक्षा हुनुपर्यो । सम्पुर्ण वस्तुगत संघहरु र सम्पुर्ण उद्योमी व्यवसायीको समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्न तर्फ अगाडि जाने उनको भनाइ छ ।

महासंघमा वस्तुगत तर्फ १ सय १ र जिल्ला तथा नगरमा १ सय ५ र एशोसियटतर्फ ९ सय ३ मतदाता थिए ।

निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन । वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भए । महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ ।

ढकाल समुहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाएका थिए । त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित भए ।


क्लिकमान्डु