एनएमबि बैंकले सबै खातावाललाई ५ लाख रुपैयाँसम्म ‘डिजिटल टर्म लोन’ दिने, यस्तो छ प्रक्रिया



काठमाडौं । बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय प्रविधि भित्र्याएर डिजिटल माध्यमबाटै कारोबार गर्ने प्रवृत्ति बढ्दो छ ।

ग्राहकले खाता शुरु गर्ने, फण्ड टास्फर, बिल भुक्तानी, कर्जा सम्बन्धी जानकारी लगायतका विभिन्न कारोबारहरु स्मार्ट बैंकिङबाट गर्न मिल्ने व्यवस्था नेपालका बैंकहरुले पनि गरिसकेका छन् ।

तर जतिधेरै प्रविधिको विकास भएर कारोबार डिजिटल बनाए पनि कर्जा सम्बन्धी कारोबारका लागि भने बैंक नै पुग्नु पर्ने बाध्यता आज पनि ग्राहकलाई छ ।

कर्जा सम्बन्धी जानकारी बैंकहरुले प्रविधिमार्फत् लिन मिल्ने व्यवस्था गरेका भए पनि कर्जाका अन्य प्रक्रिया पुरा गर्न बैंकको काउण्टर नै पुग्नु पर्छ ।

कोरोनाका संक्रमण जोखिमका कारण अहिले प्रायः मानिसहरु भिडभाड हुने जस्ता स्थानमा जान संकोच मान्छन् । जसकारण ग्राहकको सहुलियतका लागि पछिल्लो समयमा केही वाणिज्य बैंकहरुले बैंक कर्जा समेत डिजिटल्ली नै लिन मिल्ने व्यवस्था गरेका छन् ।

जसमा ग्राहकले तोकिएको दायरामा रहेर आवश्यक पर्ने कर्जा कागजी प्रक्रियाबिना घरमै बसी–बसी आवेदन दिएर कर्जा पास भए पछि आफ्नो खातामा कर्जा रकम प्राप्त गर्छन् ।

नबिल बैंक, कुमारी बैंक र एनएमबि बैंकले खातावाहक ग्राहकका लागि १ लाख रुपैयाँसम्म कर्जा बैंकको काउण्टरसम्म नपुगी डिजिटल प्रविधिमार्फत् नै लिन मिल्ने योजना ल्याएका हुन् । जसमा नबिल बैंक र कुमारी बैंकले फोन लोन योजना ल्याएका छन् भने एनएमबि बैंक डिजिलट टर्म लोन योजना ल्याएको छ ।

फोन लोन ल्याएका बैंकले कर्जाको अवधि १ महिना निर्धारण गरेका छन् । अर्थात् फोन लोन अन्तर्गत १ लाख रुपैयाँसम्म कर्जा लिएका ग्राहकले १ महिनाभित्र साँवा–ब्याज भुक्तानी गरिसक्नु पर्ने हुन्छ ।

तर एनएमबि बैंकले ल्याएको डिजिटल टर्म लोन ‘एनएमबि सापटी’ भने फोन लोन जस्तै भएपनि यसमा राखिएको सेवा सुविधा र प्रक्रिया भने फरक छ ।

के हो एनएमबि सापटी ?

बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) प्रविधिबाट २४सै घण्टा कर्जा प्रवाह गर्न प्रवाह गर्ने गरी खाता बाहक ग्राहकहरुका लागि १ लाख रुपैयाँसम्म कर्जा सापटी योजना ल्याएको हो ।

तलब खातावालहरुले बैंकबाट जुनसुकै बेला अवस्थामा पनि बैंक नपुगी कर्जाको आवेदन दिन सक्नेछन् ।

फोन लोनमा जस्तै एनएमबी सापटीमा पनि तलबी खातावालहरुले १ लाख रुपैयाँसम्म कर्जा लिन पाउने भए पनि यसको कर्जा भुक्तानी भने फरक छ ।

फोन लोनमा मासिक साँवा ब्याज (इएमआइ) तय गर्न मिल्दैन जस कारण ऋणीले एक महिनाभित्रमा एकै पटक १ लाख रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।

तर डिजिटल टर्म लोनमा राष्ट्र बैंकको नीतिअनुसार रिटेल कर्जामा जसरी नै मासिक इएमआइ तय गरिने हुँदा बैंकले आफ्नो आम्दानी क्षमता अनुसार सानो/सानो परिमाणमा इएमआइ भुक्तानी गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

‘आफ्नो तलब अनुसार इएमआइ सेट गरी ३ महिनादेखि २४ महिनासम्म ग्राहकले कर्जा तिर्दा हुन्छ,’ केसीले क्लिकमाण्डूसँग भने, ‘ग्राहकले मासिक कति भुक्तानी गर्न सक्छ त्यही अनुसार ग्राहकले नै तय गरी १ वर्षभित्र १ लाख रुपैयाँ तिर्न मिल्ने व्यवस्था गरिएको छ ।’

भारतलगायत विश्वका अन्य विभिन्न राष्ट्रका बैंकहरुले गरिरहेको डिजिटल कर्जा प्रवाहको अभ्यास नेपालमा पहिलो पटक एनएमबिले शुरु गरेको केसीले बताए ।

ग्राहकलाई बैंकसम्म नपुगी वित्तिीय रुपमा अप्ठ्यारो स्थिति आएमा जस्तोसुकै अवस्थामा पनि तुरुन्तै आवेदन दिए बैंकले तत्कालै कर्जा रकम खातामा जम्मा गरिदिने उनले जानकारी दिए ।

कस्ता खातावाल कर्जाका लागि योग्य हुन्छ ?

बैंकमा तलब खाता संचालन भएको न्यूनतम ३ महिना पुरा भई निरन्तर खातामा तलब जम्मा भएका खातावालको उमेर, कालोसूचीको रेकर्ड, तलब खातमा हुने बचत र खर्चको विस्तृत अध्ययन र विश्लेषण बैंकले सोही अनुसारको स्कोर ग्राहकलाई दिन्छ ।

सोही स्कोरको आधारमा बैंकले ग्राहकलाई एनएमबि सापटी कर्जाको लागि अफर गर्छ । बैंकले खातावालको मात्र कर्मचारीको खाता भएको संघ संस्थाको समेत अध्ययन र विश्लेषण गरेर मात्र ग्राहकलाई स्कोर दिन्छ ।

बैंकको १ लाख रुपैयाँसम्मको डिजिटल ट्रम लोन स्थायी प्यान नम्बर भएका २० देखि ६० वर्षभित्रको ग्राहकलाई मात्र कर्जाका लागि योग्य गरेको छ ।

कर्जा लिन योग्य भएका तलबी खातावाल ग्राहकको नम्बरमा बैंकले कर्जाको आवेदन दिन सकिने लिंक म्यासेज गर्छ । जुन लिंकमा ग्राहकले आवेदन दिन सक्ने कर्जाको परिमाण, साँवा–ब्याज भुक्तानी, र ब्याजदरको विकल्पहरु राखिएको हुन्छ ।

कर्जा आवश्यक पर्ने ग्राहकले २४सै घण्टा इन्टरनेटको सुविधा भएको जस्तो सुकै स्थानबाट समेत कर्जाको आवेदन दिन सक्नेछन् । जसमा बैंकले तत्कालै कर्जा स्वीकृत गरेको ग्राहकको खातामा रकम जम्मा गरिदिने बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मीले जानकारी दिए ।

बैंकले प्राप्त कर्जाको आवेदन हेरी ब्याजदर, साँबा ब्याजको भुक्तानी अवधि र समय तय आफैले दिएको विकल्प अनुसार गर्नेछन् । जसमा बैंकले अधिकमतम बेसरेटमा ५ प्रतिशतसम्म प्रिमियम लिने रेग्मीले बताए ।

‘ग्राहक र बैंकको आपसी सम्झौतामा ब्याजदरमा थपघट हुन्छ भने कर्जा लिएको ३ महिनादेखि २४ महिनासम्म ग्राहकले मासिकसाँवा/ब्याज (इएमआइ) भुक्तानी गर्न सक्छन्,’ रेग्मीले थपे ।

छिट्टै सबै खातावालालाई ५ लाख रुपैयाँसम्म डिजिटल टर्म लोन

बैंकले निकट भविश्यमै सम्पुर्ण खातावालहरुलाई डिजिटल टर्म लोन प्रवाह गर्ने योजना बनाएको छ ।

तलबी खाता बाहेकका खातावालहरुको तथ्यांक अध्ययन तथा विश्लेषण गरी उचित नीति नियम र प्रविधिको प्रयोग गरी सबै खातावालहरुलाई डिजिटल टर्म लोन योजना सार्वजनिक गर्ने तयारी बैंक रहेको सीइओ केसीले बताए ।

 ‘पहिलो चरणमा हामीले तलबी खातावालहरुको लागि मात्र ल्याएका छौँ, तर अब केही समयपछि अन्य खातावालहरुलाई पनि एनएमबि सापटी दिने योजना बनाएका छौँ,’ केसीले भने, ‘यसको अभ्यास र अनुभव राम्रो रहेमा पुन हामीले अन्य प्रकारका सानो कर्जाहरु आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मार्फत् प्रवाह गर्ने योजना बनाएका छौंँ ।’

सबै ग्राहकलाई यस्तो सापटी दिँदा अधिकतम ५ लाख रुपैयाँसम्म डिजिटल टर्म लोन दिने योजना बनाइरहेको उनले बताए । तर कर्जाको परिमाण भने बैंकले विस्तारै बढाउँदै लैजाने उनले जानकारी दिए ।

डिजिटल लोनमा जोखिम तुलनात्मक रुपमा केही बढी हुन्छ ।

तर बैंकले सो जोखिम न्यूनिकरणका लागि खातावालाहरुको तथ्यांक सिस्टममा राखेर उचित भएमा मात्र सिस्टमबाट कर्जाका लागि योग्य हुने व्यवस्था मिलाइएको केसीको भनाइ छ ।


क्लिकमान्डु