बैंकहरुलाई गभर्नरको निर्देशनः कोरोना प्रभावित व्यवसायीलाई कालोसूचीमा राख्ने धम्की नदिनू



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई नकस्न र कालोसूचीमा राख्ने धम्की नदिन निर्देशन दिएका छन् ।

राष्ट्र बैंकले आइतबार आयोजना गरेको वेबिनारमा उनले कोभिडका कारण मारमा परेका व्यवसायीलाई राहत प्रदान गर्न र उनीहरुलाई कुनै प्रकारको दबाव दिएर हतोत्साहित नबनाउन आग्रह गरे ।

‘कोभिडभन्दा पहिल्यैको कर्जा भएको खण्डमा भने छुट दिन सकिँदैन, मिल्दैन पनि तर, कोभिडका कारण मारमा परेका व्यवसायीलाई कस्ने कुरा मिल्दो हुँदैन, उनीहरुको व्यापार व्यवसाय जोगाउनेतर्फ लाग्नुस्,’ गभर्नर अधिकारीले भने ।

कमाउन सक्नेबाट ऋण उठाउन कुनै आपत्ति नभए पनि समस्यामा परेका, कमाउन नसकेका व्यवसायीलाई समस्यामा पार्ने यो समय नभएको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहक आफैं चिन्ने भएकाले को समस्यामा छन्, कसले कमाएका छन् भन्ने पनि उनीहरुले नै पत्ता लगाउन सक्ने उनको भनाइ छ ।

‘कमाएका छन् भने कसेर लिनुस्, उबाट असुल गर्नुस् तर समस्यामा परेकालाई बढी मारमा नपार्नुस्,’ गभर्नर अधिकारीले भने ।

समस्यामा परेका व्यवसायीलाई राहत दिएर, उनीहरुको भावना बुझेर दीर्घकालसम्म हुने गरी व्यवसाय गर्ने वातावरण बनाउन उनले आग्रह गरे ।

उनले चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीति कार्यान्वयनमा लागि ल्याइएको भन्दै नीति कागजमा सिमित गर्नका लागि नभएको बताए ।

उनले मौद्रिक नीति कार्यान्वयनको क्रमम कही कतै समस्या भएको खण्डमा त्यसलाई क्रमशः संशोधन गरिने बताए । पुनरकर्जा र सहुलियतपूर्ण कर्जाका सन्दर्भमा देखिएको दुविधा तथा सूचनाको अभावलाई समेत सम्बोधन गरिने उनको भनाइ छ ।

‘रिफाइनान्सको फर्म भर्न दिएनन्,, सोर्स लगाएर मात्र फर्म पाइन्छ भन्ने गुनासो मैले सुने, हामीले उपभोक्ताको हितका लागि छुट्टै यूनिट बनाएका छौं, त्यहाँ उजुरी गर्नुस् हामी कारवाही गर्छौ,’ गभर्नर अधिकारीले भने ।


पुष्प दुलाल