स्पेनले आप्रवासी माथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जादै
बार्सिलोना(स्पेन) । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ ।
स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वार्तामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गर्ने भएको छ ।
उनले भने आर्राइगो सोसियल अन्तरगत अध्यागमन अर्टिकल १२४.२ लाई खारेज गरिने छ । ३ वर्ष गैरकानूनी रुपमा लुकेर बसेकाले १ वर्षको कामको कन्ट्राकका आधारमा आर्राइगो सोसियलको लागि निवेदन दिने सकिने नियम थियो ।
गत महिना गठबन्धन सरकारका प्रधानमन्त्री पेद्रो सान्चेसले संसदमा आर्राइगो सोसियल खारेज लगायत कानुनी रुपमा आप्रवासी नियममा सुधार गर्ने बताएका थिए । कोरोना संक्रमण नियन्त्रणसँगै सरकारले आप्रवासी माथि कडाई गरिने उनले उल्लेख गरेका थिए ।
उता आप्रवासी माथि कडाई गर्ने तयारी गरेसँगै स्पेनमा तीन वर्षमा कार्ड बनाउन गैरकानूनी रुपमा बसेका नेपालीहरु समस्यामा परेका छन् । कोरोना संक्रमण बढेको बेलामा पनि सयौ नेपालीहरु धमाधम पोर्चुगल जान शुरु गरेका छन् । कागजात बनाउन सजिलो मुलुकमध्ये पोर्चुगल एक हो । यहाँ प्रकृया पुगेको एक वर्षमा अस्थायी रेसीडेन्सी कार्ड बनाउन सकिन्छ ।
कोरोना भाइरसको महामारी कारण स्पेनमा आर्थिक मन्दी र बेरोजगारी दर बढेको छ । हाल स्पेनमा बेरोजगारी दर ३३ लाख ६८ हजार अर्थात १५,३३ प्रतिशत रहेको छ ।
स्पेनको तेस्रो ठुलो आप्रवासी र इस्लाम विरोधी दक्षिणपन्थी वोक्स पार्टीले अवैध आप्रवासी देश निकाला गर्ने, आर्राइगो बन्द गराउने, कट्टरपन्थी मस्जिदहरू बन्द गराउने लगायतका कडा मुद्दाहरु संसदमा उठाउदै आएको छ । साथै वोक्स पार्टीले कानुनी रुपमा बसेका आप्रवासीले कुनै अपराध गरेको छ भने पनि देश निकाला गर्नुपर्ने लगायतका कयौ आप्रवासी विरोधी मुद्दा सारेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणले स्पेनमा पनि भयावह अवस्था सिर्जना गरेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ८ लाख ५२ हजार बढी पुगेको छ । भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ हजार २ सय बढी रहेको छ ।
युरोपमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका पाँच देशहरु फ्रान्स, जर्मनी, इटाली, स्पेन र बेलायत हुन् । कोरोना भाइरसका कारण स्पेन आर्थिक मन्दीको चपेटामा परेको छ । स्पेनको अर्थव्यवस्थामा अन्य देशको तुलनामा निकै गिरावट आएको छ। स्पेनमा निर्यात, लगानी र उपभोक्ताको खर्चमा तीव्र गिरावट आएको छ। तथ्यांकअनुसार पछिल्लो महिना स्पेनको अर्थव्यवस्थाका लागि सबैभन्दा खराब समय रहेको देखिन्छ । स्पेनको जीडीपीमा पनि निरन्तर गिरावट देखिएको छ।