९ अर्ब घाटा भएपछि चिनियाँ विमानमा बन्द गर्ने निर्णयसँगै कर्मचारी हटाइयो, बिक्री गर्ने तयारी



काठमाडौं । नेपाल वायुसेवा निगमले ६ वटा चिनियाँ विमानको व्यवसायिक उडान बन्द गर्ने निर्णय गरेको छ । निगमले आगामी साउन १५ गतेदेखि सम्पूर्ण चिनियाँ विमानको व्यवसायिक उडान बन्द गर्ने निर्णय भएको निगम बोर्डका एक सदस्यले जानकारी दिए ।

विमान खरिद गर्दा ६ अर्ब ६० करोड रुपैयाँ र हालसम्म २ अर्ब ३० करोड रुपैयाँ गरी हालसम्म चिनियाँ विमानबाट मात्रै ८ अर्ब ९० करोड रुपैयाँ घाटा भइसकेको छ ।

यसका लागि निगमले विभिन्न ८ वटा कारण देखाएको छ ।

चीन सरकारको सहयोगमा प्राप्त भएका २ वटा विमान एमए६० र वाई १२ र सहुलियतपूर्ण कर्जामा प्राप्त बाँकी ४ वटा एउटा एमए६० र ३ वटा वाई१२ विमान ल्याएदेखि घाटामा गइरहेको भन्दै सञ्चालन बन्द गर्ने निर्णय भएका ती सदस्यले जानकारी दिए ।

निगमका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि आव २०७४/७५ सम्म ६ वटा चिनियाँ विमानबाट हालसम्म १ अर्ब ९० करोड रुपैयाँ घाटा भएको छ । त्यसैगरी आव २०७५/७६ सम्म थप ४३ करोड रुपैयाँ घाटा गरी कुल २ अर्ब ३३ करोड रुपैयाँ निगमलाई घाटा भइसकेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०७४/७५ मा २ वटा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा मात्रै ९१ करोड ४५ लाख ६५ हजार ८२ रुपैयाँ निगमलाई खुद नोक्सानी भइसकेको छ । निगमले ठूलो घाटा भइसकेपछि मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनु पर्ने समेत उल्लेख गरेको छ ।

बोर्डले प्राप्त सुझावलाई समेत ध्यानमा राख्दै यी विमान सञ्चालनका लागि मोलालिडी तयार गर्न वा अन्य उपयुक्त व्यवस्था गर्न विभिन्न समसयमा ७/८ वटा टास्क फोर्स समेत गठन गरेको थियो । हालसम्म सञ्चालक समितिका २० वटा बैठकमा तमाम प्रयासपछि पनि विमान सञ्चालन गरी मुनाफा आर्जन गर्न नसकिने निश्कर्ष निकालेको थियो ।

चिनियाँ विमानहरु सञ्चालनको प्रयास गर्दा मात्रै पनि बीमा शुल्क, क्रु मेम्बरका लागि हुने खर्च तथा पिरियडिक मेन्टिनेन्स फर एयर वर्थिनेस खर्च मात्र गरी वार्षिक ५० करोडभन्दा बढी खुद घाटा हुने देखिएको थियो ।

निगमका अनुसार आगामी साउन १५ गतेदेखि विमानको व्यवसायी उडान बन्द गर्ने, लविमान मर्मत गर्ने लाइसेन्स भएका इन्जिनियरङलाई सो वापतको भत्ता उपलब्ध नगराउने र यी विमान सञ्चालन गर्न करारमा नियुक्त पाइलटहरुको करार नविकरण नगर्ने निर्णय गरी उपयुक्त निकास खोज्ने निर्णय गरिएको छ ।

हाल ६ वटा चिनियाँ विमानमध्ये एमए६० ग्राउन्डेड छ भने अर्को सञ्चालनमा छ । त्यसैगरी ४ वटा वाई१२ मध्ये ३ वटा ग्राउन्डेड छ भने एउटा नेपालगञ्जमा पूर्णरुपमा क्षतिग्रस्त भइ चल्न सक्ने अवस्थामा छैन् ।

यसका अतिरिक्त चिनियाँ विमान विस्थापन गर्दा अबरुद्ध हुने आन्तरिक उडालाई सूचारु गर्न इन्टिग्रेटेड डोमेस्टिक विजनेस प्लान विथ रिप्लेसमेन्ट प्लान अन्तर्गत एमए ६० र वाई १२ विमान प्रतिवेदन तयार गरी लागू गर्ने समेत निर्णय निगमले गरेको छ ।

बिक्री गर्ने तयारी
चिनियाँ ६ वटा विमान नेपाल वायुसेवा निगमले सञ्चालन गर्ने भए पनि त्यो सम्पत्ति नेपाल सरकारको हो । त्यसैले निगमले चिनियाँ विमान सञ्चालन गर्न सक्ने भन्दै पर्यटन मन्त्रालयलाई पत्र लेखि यसबारेमा जानकारी गराइसकेको छ । वर्षेनी ठूलो घाटा बेहोर्दै सञ्चालन गर्न नसक्ने अवस्था आएपछि सरकारलाई नै बुझाउने निर्णय भएको ती बोर्ड सदस्यले भने ।

उनका अनुसार निगमले कुनै पनि हालतमा चिनियाँ विमान सञ्चालन गर्न सक्ने अवस्था छैन । यदी सरकारको दबाबमा सञ्चालन गर्नुपर्ने अवस्था आएमा त्यसवापतको अनुदान सरकारले दिनुपर्ने उनको तर्क छ ।
उनले अब बिक्री गर्ने तर बिक्री नभएको अवस्थामा त्यसबाट हुने घाटा सरकारले नै बेहोर्नुपर्ने बताए ।

‘अवस्था कस्तोसम्म भइदियो भने हामीले अध्ययन गर्दा निजी क्षेत्रलाई दिएर सञ्चालन गरी प्रतिफल पनि ल्याउन सक्ने अवस्था देखेनौं, साथै नेपाली सेनालाई दिने वा बिक्री गर्ने निर्णय सरकारले गर्नुपर्छ,’ उनले भने ।

उनका अनुसार निगम आफै घाटामा गइरहेको अवस्थामा अब यसलाई उकास्ने हो भने चिनियाँ विमानको बोझ राख्न सकिन्न ।

यस्ता छन्, कारण
१) चिनियाँ विमानको बीमा रकम अन्य विमानको तुलनामा ३५ प्रतिशत बढी छ ।

२) चिनियाँ विमानका लागि पाइलट उपलब्ध नभएको तथा आफैले उत्पादन गर्नु परेको छ जुन निगमसँग हाल सञ्चालनमा रहेका एयरबस ३२० को तुलनामा महंगो छ ।

३) विमानको स्पेयर पार्टस समेत समान क्षमताका अन्य विमानको तुलनामा ७५ प्रतिशत महंगो छ ।

४) विमान ग्राउन्डेड भइसकेपछि स्पेयर पार्टस अर्डर गर्दा अत्यधिक समय लाग्ने गरेको साथै कतिपय अवस्थामा अर्डर गरेको पार्टस २ महिनासम्म पनि प्राप्त नभएको अवस्था छ ।

५) स्टोल रुटमा प्रस्तावित विमानको तुलनामा २५ देखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन छ ।

६) दुबै विमानको पाइलट अभाव रहेको तथा प्रशिक्षण खर्च अन्य समान विमानको तुलनामा ४ गुणा बढी छ ।

७) एमए६० सिमेलुटर तालिम खर्च अन्य विमानको तुलनामा ७५ प्रतिशत बढी र टाइप रेटिङ तालिम खर्च ३० प्रतिशत बढी छ ।

८) एमए६० विमानको इन्धन खर्च अन्य समान प्रकृतिको विमानको तुलनामा दोब्बर र वाई१२ विमानको ५० प्रतिशतले बढी छ ।

नेपालगञ्जमा दुर्घटनाग्रस्त चिनियाँ विमान

लकडाउनमा ९० प्रतिशत घाटा
निगमका अनुसार लकडाउनको अवधिमा नेपाल एयरलाइन्सको आम्दानी ९० प्रतिशत घटेको छ ।

‘दैनिक औसतमा ९० प्रतिशत घाटा भइरहेको छ, आन्तरिक उडान समेत बन्द भएकाले थप जोखिम उत्पन्न भएको छ,’ निगम बोर्डका एक सदस्यले भने ।

यस्तो अवस्थामा निगमलाई जोगाइराख्न समेत खर्च कटौतीमा हर सम्भव प्रयास गर्नु परेकाले हाल काम नभएका र तुरुन्तै काममा लगाउन नसकिने करारका कर्मचारीहरुलाई र जसको नविकरण सकिएको छ उनीहरुको नविकरण गर्ने समेत निगमले निर्णय गरिसकेको छ ।

निमगका अनुसार असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक पर्ने ८० जनाको नविकरण गरी बाँकी १४५ जनाको नविकरण गर्ने निर्णय गरिएको छ । जसबाट मात्रै निगमले वार्षिक ५ करोड रुपैयाँ खर्च कम गर्नेछ ।

निगमले लकडाउनको समयमा हालसम्म ९७ वटा विभिन्न उडान गरेको छ । जसमध्ये १० वटा मेडिकल चार्टर्ड, २१ वटा यात्रु चार्टर्ड र ६६ वटा उद्दारका लागि उडान गरेको छ ।

हालसम्म लकडाउनको अवधिमा मात्रै ७७० जना विदेशी यात्रुको उद्दार गरेको छ भने १२ हजार २६३ जना नेपाली नागरिकको उद्दार गरिएको छ । साथै यसबीच १३५ टन मेडिकल सामग्री तथा उपकरण समेत ल्याइएको छ ।

निगमले यसअवधिमा नियमति उडान नहुने विभिन्न १० वटा देशका १८ वटा गन्तव्यमा समेत उडान गरेको छ ।

करारका कर्मचारी हटाइयो
निगमका अनुसार आज २०७६/७७मा जम्मा १ हजार ४९१ वटा जनशक्ती रहेकोमा जम्मा ४७८ जना कर्मचारी करारमा थिए । जसमध्ये सामान्य विभागमा १५५ जना, विमान मर्मतमा १०९ जना, सामान्य प्राविधिक ३४ जना र उडान सञ्चालनमा १८० जना कर्मचारी करारमा थिए ।


पुष्प दुलाल