उम्मेद्वारी फिर्ता गर्दै सौरभ ज्योतिले भने- शेखर गोल्छा र चन्द्र ढकाललाई मेरो समर्थन



 

काठमाडौं । व्यवसायी सौरभ ज्योति एसोसिएट तर्फको उपाध्यक्षमा चुनाव नलड्ने भएका छन् । गोल्छा प्यानलबाट एसोसिएटतर्फका उम्मेद्वार चन्द्र ढकाललाई समर्थन गर्दै ज्योतिले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।

‘महासंघको एकता र संस्थागत विकासका लागि मैले आफ्नो उम्मेद्वारी फिर्ता गरेर एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाललाई सहयोग गर्ने निर्णय गरेँ,’ ज्योतिले क्लिकमाण्डूसँग कुराकानी गर्दै भने, ‘अब कार्यसमिति सदस्यमा चुनाव लड्छु ।’

ज्योति अहिलेको कार्यसमितिमा पनि सदस्य छन् । त्यतिमात्रै होइन उनी महासंघको राजस्व समितिको सभापति समेत छन् ।

शेखर गोल्छा समूहको उम्मेद्वारी दर्ता गर्न टेकुस्थित महासंघको कार्यालय पुगेका ज्योतिले पत्रकार सम्मेलन गरी आफ्नो उम्मेद्वारी फिर्ता भएको घोषणा गरेका हुन् । गत फागनु २७ गते क्लिकमाण्डूलाई अन्तर्वार्ता दिँदै ज्योतिले जोसुकैको अलाइन्स भएपनि आफू चुनाव लड्ने दाबी गरेका थिए ।

पढ्नुहोस् ज्योतिको अन्तर्वार्ता- जोसुकैको एलाइन्स् होस्, म त चुनाब उठ्ने हो

ज्योतिको उम्मेद्वारी फिर्ता भएसँगै एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध हुने संभाबना बढेर गएको छ । किनभने किशोर प्रधानको प्यानलले अहिलेसम्म एसोसिएटतर्फको उपाध्यक्षको उम्मेद्वार छनाैट गर्न गरेको छैन ।


पुष्प दुलाल