अर्थमन्त्री खतिवडाको ‘ग्रिन सिग्नल’पछि अर्को पुनर्बीमा कम्पनी खोल्ने गृहकार्य अगाडि बढ्यो



काठमाडौं । काठमाडौं । नेपालमा फेरि नयाँ पुनर्बीमा कम्पनी आउने तयारीमा रहेको छ ।

७५ प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारणको सेयरसहितको अन्नपूर्ण रि-इन्स्योरेन्स कम्पनी ‘अन्नपूर्ण रि’ आउने तयारीमा रहेको छ ।

अन्नपूर्ण रि-इन्स्योरेन्स कम्पनीमा सरकारी निकायको १० प्रतिशत, जीवन र निर्जीवन बीमा कम्पनीको २० प्रतिशत, जीवन र निर्जीवन बीमा कम्पनीका संस्थापकको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १० र ग्रुप अफ कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व रहने भएको छ ।

स्रोतका अनुसार नयाँ पुनर्बीमा कम्नपनीका लागि लगानी गर्न सबै जीवन तथा निर्जीवन बीमा कम्पनीसँग छलफल भइरहेको छ ।

छलफलका क्रममा धेरैले चासो दिएको बताइएको छ । यस्तै विभिन्न कम्पनीहरुले गर्ने २५ प्रतिशत लगानीका लागि पनि लगानीकर्ता खोज्ने क्रम जारी रहेको छ । यसका लागि एउटै कम्पनीले पूरै लगानी गर्न नसक्ने भएर अहिले ८/१० वटा समूहसँग छलफल भइरहेको छ ।

कोरोनाको असरका कारण यो कामले पूर्णता पाउन सकेको छैन । फोन तथा इमेलमार्फत् लगानीका लागि सहमति भने भइसहेको छ । केही दिनमा यसले पूर्णता पाउने छ । हाल छलफलमा रहेका कम्पनीहरुले २/३ प्रतिशतसम्म लगानी गर्ने भन्ने छलफल भएको स्रोतको भनाइ छ ।

सबैबाट लगानीका लागि सहमति जुटेपनि आवश्यक प्रबन्धपत्र, नियमावली बनाएर बीमा समितिमा पेश गर्ने, समितिबाट सैद्दान्तिक सहमति पाएपछि कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालय जाने छ । अहिले भने बीमा समितिमा सैद्दान्तिक सहमतिका लागि आवश्यक काम भइरहेको बताइएको छ । यसको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहने छ ।

बीमा समितिको वार्षिकउत्सवमा अर्थमन्त्री डा युवराज खतिवडाले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स दिन सकिने बताएका थिए । नेपालमा अहिले सरकारको बहुमत सेयर भएको एउटा मात्र पुनर्बीमा कम्पनी रहेको छ ।


क्लिकमान्डु