दुई अमेरिकी बीमा कम्पनीले कोरोना प्रभावित ग्राहकको ८० करोड डलर प्रिमियम फिर्ता दिने
काठमाडौं । कोरोना भाइरसका कारण कसैले पनि गाडी नचलाएको भन्दै अमेरिकाका २ वटा बीमा कम्पनीले आफ्ना अटो इन्स्योरेन्स ग्राहकलाई ८ सय मिलियन डलर अर्थात् ८० करोड डलर फिर्ता दिने भएका छन् ।
अलस्टेट र अमेरिकन फेमिलि इन्स्योरेन्सले कोरोना भाइरस आतंकका कारण गाडी नचलेको भन्दै उक्त रकम फिर्ता दिने निर्णय गरेका हुन् ।
अलस्टेट बीमा कम्पनीले ग्राहकले अप्रिल र मे महिनामा तिरेको प्रिमियमको करिब १५ प्रतिशत रकम फिर्ता दिने भएको छ ।
अलस्टेट कम्पनीले दिने भुक्तानी ब्यक्तिगत अटो विमा रहेका अमेरिकन र क्यानाडियन ग्राहकले पाउनेछन् ।
अमेरिकन फेमिली बीमा कम्पनीले पनि सबै ग्राहकले रकम फिर्ता पाउने जनाएको छ । कम्पनीले जनाए अनुसार कम्पनीले प्रति कार ५० डलर फिर्ता दिनेछ । यसरी फिर्ता दिदाँ कम्पनीले कुल २ सय मिलियन अर्थात २० करोड अमेरिकी डलर फिर्ता गर्नेछ । यो कम्पनीले अमेरिकाका १९ वटा राज्यमा मात्र आफ्नो काम गर्दै आएको छ ।
दुबै कम्पनीले कोरोनाले गर्दा आय गुमेर आर्थिक अभाब भोग्नुपरेका ग्राहकले विना कुनै जरिवाना ढिला प्रिमियम भुक्तानी गर्न सक्ने सुविधा पनि सार्वजनिक गरेका छन । तर यसका लागि ग्राहकले कम्पनीलाई सम्पर्क गरेर जानकारी गराउन पर्नेछ ।
निजी गाडी खाद्यान्न, औषधि र अन्य सामान ढुवानी गर्न प्रयोग गरेका ग्राहकहरुको गाडीको पनि इन्स्योरेन्स कभर गर्ने योजनामा छन् ।
यी कम्पनीले संकटका बेला बीमा भन्ने बीमाको प्रिन्सिपललाई व्यवहारमा उतारेका छन् । अहिलेसम्म नेपालका बीमा कम्पनीहरुले यस्तो प्रकारका छुट योजनाहरु ल्याएका छैनन् । बीमा कम्पनीहरुका लागि यो उदाहारण हुनसक्छ । र, यसबाट पाठ सिकेर ग्राहकलाई छुटको राहत दिनसक्छन् । तर, त्यसका लागि उदार मन चाहिन्छ ।