डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहालीमा जे देखियो… भन्छन्- सत्यको जित भयो
काठमाडौं । ७७ दिन निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको सोमबार पुनर्बहाली हुने भनेपछि हामी बिहानको १० बजे राष्ट्र बैंकको बालुवाटारस्थित मूख्य कार्यालय पुग्यौं ।
डेपुटी गभर्नर शिवराज श्रेष्ठका लागि मात्रै होइन, यो दिन राष्ट्र बैंककै लागि पनि महत्वपूर्ण र ऐतिहासिक दिन थियो ।
हारेको सिपाही जस्तै गरी लुरुलुरु अढाइ महिना अघि त्यही ढोकाबाट बाहिरिएका डेपुटी गभर्नर श्रेष्ठ आफ्नो करिअरकै सबैभन्दा ठूलो बिजय प्राप्त गरेर फर्किँदै थिए ।
अर्कोतर्फ राष्ट्र बैंकजस्तो स्वायत्त र शक्तिशाली निकायको सेकेन्डम्यानमाथि लागेको आरोप प्रमाणित नभइ श्रेष्ठ फर्किँदा राष्ट्र बैंकको इज्जत र प्रतिष्ठा पनि बचेको थियो । त्यसैले राष्ट्र बैंकका लागि पनि यो महत्वपूर्ण दिन थियो ।
सरकारकै आदेशमा अनियमितताको आरोप लगाउँदै छानविन भएपछि डेपुटी गभर्नर श्रेष्ठ जोगिन्छन् भनेर कसैले अनुमानसम्म पनि गरेको थिएन । सत्यको जित हुन्छ भन्छन् सायद त्यही भएर होला ।
हामी राष्ट्र बैंक पुग्दा केही कर्मचारी र राष्ट्र बैंकका सुरक्षा गार्डहरु आपसमा खासखुस गरिरहेका थिए, ‘डेपुटी गभर्नर आउँदैछन्, कतिबजे हो ? थाहा छैन…।’ यस्तै यस्तै । उनीहरुले जब हाम्रो परिचय पाए तब हामीलाई डेपुटी गभर्नरसाब कतिखेर आउने हो भनेर सोध्नसम्म भ्याए ।
सोमबार बिहान ९.३० बजे नै कालु नामका ड्राइभर डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई लिन बा १३ च २१०० नम्बरको किया गाडी लिएर गएका थिए ।
‘खै डाइभर त गएका छन्, सर कतिबेला आउने हो, केही थाहा छैन,’ एकजना सुरक्षा गार्ड भन्दै थिए ।
श्रेष्ठ आइतबार नै कार्यालय आउने हल्ला पनि चलेको थियो । तर अर्थ मन्त्रालयले सफाइको पत्र दिन नभ्याएका कारण उनी सोमबार आउनेमा भने बैंकका कर्मचारी, सुरक्षाकर्मी सबै ढुक्क थिए । आइतबार अपह्रान्न ४ बजेपछि मात्रै श्रेष्ठले पत्र पाएका थिए ।
१०ः२८ बजे जब डेपुटी गभर्नर श्रेष्ठलाई लिन गएको गाडी राष्ट्र बैंकको गेटमा आइपुग्यो । सुरक्षा गार्डदेखि कर्मचारीहरु खुसी देखिन्थे । केही दिनका लागि टाढा गएको अफ्नो बाबुआमा फर्किँदा बच्चाको अनुहारमा देखिएको जस्तै खुसी, कर्मचारीहरुको अनुहारमा देखिन्थ्यो ।
धमाधम कर्मचारीहरु बाहिर आए । र, उनको स्वागत गर्न थाले ।
राष्ट्र बैंकभित्र प्रवेश गर्दैगर्दा डेपुटी गभर्नर श्रेष्ठ निकै खुसी र उत्साहित देखिन्थे ।
डेपुटी गभर्नर श्रेष्ठ ढाका टोपी, खैरो कलरको उनीको कोट, घिऊ कलरको दौरा-सुरुवाल र कालो जुत्तामा सजिएका थिए । लाग्छ उनी पद पुनर्बहाली गर्न आएको कर्मचारी होइन, अन्मिन लागेका बेहुला हुन् ।
राष्ट्र बैंकको गभर्नर कार्यालय रहेको भवनको मुख्य प्रवेशद्धारबाट प्रवेश गर्दा उनको चेहरामा झनझन चमक देखिँदै गयो ।
श्रेष्ठलाई स्वागत गर्न उनका स्वकीय सचिवलगायत सचिवालयका कर्मचारी बैंकको परिसरमा भेला भएका थिए । जब उनी गभर्नर कार्यकक्षमा प्रवेशका लागि अगाडि बढे तब उनलाई लिन कर्मचारीको दौडा-दौड चलेको थियो ।
‘लौ है, सर हजुर, बधाई छ, स्वागत छ,’ भन्दै कर्मचारी अघिपछि लागे ।
श्रेष्ठ गभर्नर कार्यालयको तेस्रो तल्लामा उक्लिए । सो तल्लामा उनको कार्यकक्ष थियो ।
आफ्नो चेम्बर छिर्ने ढोकामा पुगेपछि उनी टक्क अडिए । र, ठीक विपरीत रहेको ४६१ नम्बरको कोठातर्फ नजर डुलाए । उक्त कोठा त्यही हो जहाँ श्रेष्ठमाथि लागेका अरोप छानविनका लागि गठन भएको समितिले एक महिना सचिवालयको रुपमा प्रयोग गरेको थियो ।
राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकद्धय सुवोधलाल कर्ण र रामजी रेग्मी सदस्य रहेको समितिले एक महिनाभन्दा बढी लगाएर श्रेष्ठको छानविन गरेको थियो ।
छानबिन समितिले गत मंसिर २४ गते राष्ट्र बैंक सञ्चालक समिति समक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो र राष्ट्र बैंकले मंसिर २५ गते सरकारलाई उक्त प्रतिवेदन बुझाएको थियो ।
गत पुस २८ गतेको मन्त्रिपरिषदले छानविन समितिको प्रतिवेदनका आधारमा श्रेष्ठ दोषी नदेखिएको भन्दै सफाइ दिने निणर्य गरेको थियो ।
सायद त्यही भएर श्रेष्ठले त्यो कोठालाई नियालेको हुनुपर्छ । कोठा नं.४६१ ले नै उनको भाग्यको फैसला गरेको हो । लाग्थ्यो त्यो काठा देखेर पनि उनी भित्रभित्रै खुसीले गदगद भइरहेका थिए ।
एकै छिन उभिएर श्रेष्ठले सचिवालयका कर्मचारीलाई हेरे । अनि समाचार संकलनका लागि गएका नारायण पौडेल दाई र मलाई पनि हेरे । र, भने ‘यता हो, आउनुहोस् भित्रै जाऔं ।’
जब कार्यकक्ष भित्र प्रवेश गरे । पुलुक्क कुर्सीमा हेरे । कोठाभरी नजर घुमाए । अनि कुर्सीमा बस्नुभन्दा अघि टेवलमा यत्रतत्र छरिएर रहेका सामानहरु मिलाए ।
कुर्सीमा बस्न मात्रै लागेका थिए ।
राष्ट्र बैंकका कर्मचारीको एउटा समूह श्रेष्ठलाई स्वागत गर्न उनको चेम्बरभित्रै प्रवेश गर्यो । उनलाई स्वागत गर्न आएको सो समूहमा अधिकांश नेवार समूदायका कर्मचारी थिए । तीमध्ये केहीले नेवारी भाषामा नै उनलाई बधाई दिए । श्रेष्ठ मुस्कुराउँदै धन्यबाद, धन्यवाद भनिरहेका थिए ।
झण्डै खोसिएको कुर्सीमा उनी बिराजमान हुँदैथिए । कुर्सीमा थ्याच्च बस्न मात्रै लागेथिए । स्वागतमा आएका कर्मचारीहरुलाई सोधे- गभर्नर सा’ब खोई, अफिस आइपुग्नु भएको छैन ?’
स्वागतमा आएका कर्मचारीले गभर्नर डा. चिरञ्जीवी नेपाल आइ नपुगेको जानकारी गराए ।
७७ दिनपछि डेपुटी गभर्नरको कुर्सीमा बस्दा श्रेष्ठलाई कुर्सी जोगिएकोमा भन्दा पनि आफ्नो करिअर, आजसम्म कमाएको इज्जत र प्रतिष्ठा जोगिएकोमा गौरवको महशुस गरिरहेका थिए । उनीमाथि लागेको आरोप प्रमाणित भएको भए उनको पद मात्रै गुम्ने थिएन, प्रतिष्ठा पनि गुम्ने निश्चित थियो ।
उनी कार्यकक्षमा पुगेको केही समय नपुग्दै नेवारी संस्कार अनुसार स्वागत गरियो । नेवारी पुरोहितले श्रेष्ठलाई निधारमा टिका र शिरमा फुल लगाइदिए । कुर्सीमा बसेपछि श्रेष्ठले हाजिर गरे ।
केही समय बसेर उनीहरु बाहरिए । नारायण दाई र म भने बस्यौं ।
हामीसँगको कुराकानीका क्रममा श्रेष्ठले केही भावनाहरु सेयर गरे । खुसीसँगै उनी भावुक पनि थिए । उनले सत्यतथ्य छानविन गरेकोमा छानविन समिति र सरकारलाई धन्यबाद दिए ।
डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहालीमा जे देखियो… भन्छन्- सत्यको जित भयो
आफूमाथि आरोप लगाउनेहरुको समयको बर्बाद भएको उनले बताए । यो आफ्नो मात्रै नभई राष्ट्र बैंककै जित भएको पनि उनले सुनाए ।
‘आरोप लगाएर छानविन गरेर सफाइ पाएर पनि फर्किनु भनेको आगामी दिनहरुमा यस्ता झुटा आरोप लगाएर कसैलाई लडाउन खोज्नेको लागि गतिलो प्रहार हो,’ उनले सुनाए, ‘सरकारले सत्यतथ्य छानविन गर्दा म माथि लागेका आरोपहरु झुटा देखिए । र, मैले सफाइ पाएँ । न्याय पाएँ । सत्यको जित भयो ।’
नडराउनू नबिराउनु भनेजस्तै यसबीचमा आफू निडर भएर बसेको पनि उनले सुनाए ।
‘मैले केही बिराएको थिइँन, त्यसैले म नडराइ बसेँ, निलम्बनमा परेर बाहिर बस्दा पनि मलाई विश्वास थियो कि मैले सफाइ पाउँछु भनेर त्यसैले मैले बैंकिङ क्षेत्रलाई थप अघि बढाउन के कस्ता कामहरु गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गरेँ,’ श्रेष्ठले सुनाए, ‘म नडराए पनि मेरो परिवार र बैंकिङ नबुझेका केही आफन्त र साथीभाई भने धेरै नै चिन्तित थिए । उनीहरुलाई बुझाउन मलाई धेरै गाह्रो पर्यो ।’
आफूले यो सफाइ नपाएको भए मेरो परिवार र आफन्त सबैको प्रतिष्ठामा आँच आउँथ्यो । अहिले मिडिया सक्रिय भएर सत्यतथ्य कुराहरुको खोजखबर गरेको हुनाले पनि आफूमाथि लागेको आरोपहरुको छानविन सही तवरले हुन सकेको उनको भनाइ थियो ।
हामीले करिब १५ मिनेटजति उनीसँग भलाकुसारी गर्यौं । कालोचिया पियौं ।
उनको चेम्बरबाट बाहिरिनेबेलामा श्रेष्ठले हामीलाई भने, ‘बोल्दाकेही केही कमी कमजोरीहरु भए होलान्, मिलाएर लेखेदिनू ।’
‘हुन्छ सर, तपाईंलाई फेरि पनि बधाई छ, बाँकी कार्यकाल सफल रहोस्,’ हामीले भन्यौं, ‘आगामी दिनमा कसैले यस्ता आरोपसम्म पनि लगाउने हिम्मत नगर्ने गरी काम गर्नुहोला् ।’
‘आरोप लगाउनेले त जति नै राम्रो काम गरे पनि आरोप लगाइहाल्छन्,’ उनले भने, ‘आफ्नो जिम्मेवारीबाट बिमूख हुन्न, इमानदारीपूर्वक काम गर्छु ।’
हामीले फेरि पनि बधाई दियौं । र, बाहिरियौं ।
अन्ततः श्रेष्ठ निर्दोष भए । यो खुसीको कुरा हो ।
तर, यो ७७ दिनमा श्रेष्ठ, उनको परिवार र आफन्तजनले जे जस्तो पीडा र तनाव भोग्नुपर्यो । त्यो उनीहरुलाई मात्रै थाहा छ ।
पहिलो कुरा कसैलाई दुख दिने उद्देश्यले यसरी उजुरबाजुर गर्न नलागौं । र, दोस्रो कुरा आधारहिन उजुरीका आधारमा सरकारले हतारहतार छानविन गरिहाल्नाले भविष्यमा अरु कसैले पनि श्रेष्ठले जस्तो दुख भोग्नु नपरोस् । छानविनमा दोषी ठहरिए कारबाही गर्ने र निर्दोष सावित भए क्षतिपूर्तिको दिने व्यवस्था गरौं ।