नीट प्रश्नपत्र प्रकरण: भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

98
Shares

काठमाडौं । भारतको केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।

मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको (पेपर लिक) प्रकरणलाई लिएर चर्को दबाबमा परेका प्रधानले अन्ततः राजीनामा बुझाएका हुन्।

उनको राजीनामाको माग गर्दै ‘कक्रोच जनता पार्टी’ ले विगत ३६ दिनदेखि नयाँ दिल्लीको जन्तर-मन्तरमा निरन्तर धर्ना दिँदै आएको थियो।

प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली मनाउँदै कक्रोच जनता पार्टीका प्रमुख अभिजीत दीपकेले भने, ‘उनीहरू भन्थे, यो सरकारमा राजीनामा दिने चलन छैन, तर संसार झुक्छ, मात्र झुकाउने मान्छे चाहिन्छ।’

राजीनामाको खबर पाउनेबित्तिकै दीपकेले घुँडा टेकेर खुसी व्यक्त गरेका थिए।

प्रधानले आफ्नो राजीनामा पत्रमा युवाहरूलाई भ्रमित पारिएको भन्दै दुई पृष्ठको ५७५ शब्द लामो स्पष्टीकरण समेत लेखेका छन्।

मन्त्रीको राजीनामा आए पनि आन्दोलनकारीले धर्ना नछोड्ने घोषणा गरेका छन्।

दीपकेले भने, ‘मन्त्रीको राजीनामा त आयो, तर हाम्रा थप दुई माग अझै बाँकी छन्। प्रश्नपत्र लिक प्रकरणका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ मुआब्जा दिनुपर्छ र आन्दोलनकारी विद्यार्थीहरूमाथि लगाइएका प्रहरी मुद्दाहरू फिर्ता लिनुपर्छ।’

उनले प्रहरी प्रशासनलाई चेतावनी दिँदै विद्यार्थीसँग निहुँ नखोज्न समेत आग्रह गरे।

राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतले शनिबार बिहान दिल्लीमा एक कार्यक्रममा दिएको कडा अभिव्यक्तिको ४ घण्टाभित्रै प्रधानले राजीनामा दिएका हुन्।

भागवतले भनेका थिए, ‘हामी मनपरी गर्छौँ वा शक्ति प्रदर्शन गरेर सबैको मालिक बन्छौँ भन्न मिल्दैन। नयाँ पुस्ताले धेरै प्रश्न सोध्छ, उनीहरूलाई आदेश दिनुको साटो संवादमार्फत तर्क बुझाउनुपर्छ।’

यसअघि शुक्रबार राति नेशनल टेस्टिङ एजेन्सीका ४७ अधिकारीहरूलाई बर्खास्त गरिएको थियो। उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गर्ने प्रक्रिया समेत अघि बढाइएको छ। सरकारले परीक्षा प्रणालीलाई सुरक्षित बनाउन आउटसोर्सिङ व्यवस्थामा परिवर्तन र प्राविधिक सुधार गर्ने तयारी गरेको छ।

विडम्बनास् २९ वर्षअघि प्रधान आफैँले प्रश्नपत्र लिकको विरोधमा लाठी खाएका थिए । वर्तमानमा प्रश्नपत्र लिक प्रकरणकै कारण पद छोड्नुपरेका धर्मेन्द्र प्रधान २९ वर्षअघि आफैँ यस्तै प्रकरणको विरुद्धमा सडकमा उत्रिएका थिए।

सन् १९९७ मा ओडिशामा प्रश्नपत्र लिक भएको विरोधमा प्रदर्शन गर्दा प्रहरीको लाठीचार्जबाट प्रधान नराम्ररी घाइते भएका थिए। त्यतिबेला उनलाई शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै फ्याक्चर समेत भएको थियो।