
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ड्राइड्रिङ लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने भएको छ ।
सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र झन्झटमुक्त सेवा प्रदान गर्न साउन १ गते (आज) देखि लागू हुने गरी यो नयाँ व्यवस्था सुरु गर्न लागिएको हो ।
नयाँ व्यवस्था लागू भएसँगै अब सेवाग्राहीले लाइसेन्सको फारम भर्न र राजस्व बुझाउन बैंकमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
विभागका अनुसार अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा ‘नागरिक एप’ मा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो व्यक्तिगत विवरणहरू फारममा स्वतः भर्न (अटोफिल) सक्नेछन् । यसले विवरण टाइप गर्दा हुने त्रुटि हटाउने र समयको बचत गर्ने विभागको विश्वास छ ।
सुरुवाती चरणमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र वा नागरिक एप नभएका सेवाग्राहीको हकमा भने साविककै प्रक्रियाअनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत् राखिएको छ । साथै, सेवा प्रवाहका क्रममा कुनै समस्या, गुनासो वा सुझाव आएमा विभागको आधिकारिक इमेलमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।
अनलाइन सेवालाई थप व्यवस्थित बनाउन सातवटै प्रदेशका कार्यालयहरूले आ-आफ्नो क्षेत्रका सेवाग्राहीका जिज्ञासा र समस्या सम्बोधन गर्नेछन् । यसका लागि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल, इमेल र सम्पर्क नम्बरहरूको व्यवस्था गरिएको विभागले जनाएको छ ।
यस्तो छ प्रदेशअनुसारका आधिकारिक पोर्टलहरू :
कोशी प्रदेश: edlvrs.koshi.gov.np
मधेस प्रदेश: edlvrs.madhesh.gov.np
बागमती प्रदेश: edlvrs.bagamati.gov.np
गण्डकी प्रदेश: edlvrs.gandaki.gov.np
लुम्बिनी प्रदेश: edlvrs.lumbini.gov.np
कर्णाली प्रदेश: edlvrs.karnali.gov.np
सुदूरपश्चिम प्रदेश: edlvrs.sudurpashchim.gov.np





प्रतिक्रिया