नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र रद्द

49
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेड’लाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सार्वजनिक सूचना जारी गर्दै उक्त संस्थालाई दिइएको अनुमतिपत्र खारेज भएको जानकारी दिएको हो ।

भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (६) मा भएको व्यवस्था बमोजिम उक्त कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको राष्ट्र बैंकले जनाएको छ । यसअघि बैंकले उक्त संस्थालाई मिति २०७७ साल फागुन १८ गते भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न अनुमति प्रदान गरेको थियो । ऐनको प्रावधान अनुसार प्रक्रिया पूरा नभएका कारण यो अनुमतिपत्र स्वतः रद्द हुने अवस्था आएको हो ।

साथै, राष्ट्र बैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूलाई कुनै लेनदेन वा फर्स्यौट बाँकी भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । अब उक्त कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा कुनै पनि नयाँ कारोबार गर्न पाउने छैन ।