लगातार ६० दिनभन्दा बढी अनुपस्थित २३ स्वास्थ्यकर्मीलाई सोधियो स्पष्टीकरण

14
Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि विदा स्वीकृत नगराई कार्यक्षेत्रमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम विदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूलाई सेवाबाट हटाउन प्रक्रिया सुरु गरेको जनाएको हो ।

सूचनामा उल्लेख भएअनुसार, ती स्वास्थ्यकर्मीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने भनी प्रश्न गरिएको छ ।

यदि विभागीय सजाय नगर्नुपर्ने कुनै मनासिब कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेश गर्न मन्त्रालयले सम्बन्धित कर्मचारीहरूलाई सूचित गरेको छ । तोकिएको समयभित्र सफाइ पेश नगरेमा ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सूचनामा स्पष्ट पारिएको छ ।

कारबाहीको प्रक्रियामा परेका स्वास्थ्यकर्मीहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र आयुर्वेद चिकित्सालयमा कार्यरत रहेका छन् । जसमा रेडियोलोजिष्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत, स्टाफ नर्स, बाल रोग विशेषज्ञ लगायत नवौं तहदेखि पाँचौं तहसम्मका कर्मचारीहरू रहेका छन् । सबैभन्दा बढी स्वास्थ्यकर्मीहरू वीर अस्पताल र कान्ति बाल अस्पतालका रहेका छन् ।