विश्वकप सेमिफाइनलः स्पेन र फ्रान्समध्ये तथ्यमा को बलियो ?

399
Shares

एजेन्सी  । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपका दुई शक्तिशाली टोली फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। विश्व फुटबलका सबैभन्दा प्रतिस्पर्धात्मक प्रतिद्वन्द्वीमध्ये मानिने यी दुई टोलीबीचको खेललाई यस विश्वकपकै सबैभन्दा प्रतीक्षित खेलका रूपमा हेरिएको छ । बुधबार विहान १२ बजेर ४५ मिनेटमा खेल सुरु हुने छ ।

विश्वकपभर रोमाञ्चक खेलसँगै विभिन्न चर्चाले पनि माहोल तताइरहेका बेला मंगलबार अमेरिकाको टेक्सास राज्यस्थित आर्लिङ्टनको डलास स्टेडियममा हुने यो खेलले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ ।

यस खेलको अर्को विशेष आकर्षण भनेको दुई पुस्ताका स्टार खेलाडी किलियन एम्बाप्पे र लामिन यामाल बीचको प्रतिस्पर्धा हो । रियल मड्रिडका एम्बाप्पे र बार्सिलोनाका यामाल स्पेनिस ला लिगाको चर्चित ‘एल क्लासिको’मा एकअर्काको सामना गरिसकेका छन् । तर यसपटकको भिडन्त अझ ठूलो मञ्चमा हुनेछ, जहाँ दाउ विश्वकपको फाइनल यात्रा हो ।

जितको सम्भावना कसको बढी ?

खेल विश्लेषण गर्ने संस्था अप्टाको सुपरकम्प्युटरका अनुसार फ्रान्सले निर्धारित ९० मिनेटभित्र जित्ने सम्भावना ४२.१ प्रतिशत रहेको छ । स्पेनको जित्ने सम्भावना ३१.८ प्रतिशत आँकलन गरिएको छ भने खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २६.१ प्रतिशत रहेको बताइएको छ ।

यद्यपि फुटबलमा तथ्यांक मात्र निर्णायक नहुने भएकाले दुवै टोलीलाई उपाधिका बलिया दाबेदार मानिएको छ ।

कहाँ हुँदैछ खेल?

फ्रान्स र स्पेनबीचको पहिलो सेमिफाइनल अमेरिकाको टेक्सास राज्यको अर्लिङ्टनस्थित डलास स्टेडियममा हुनेछ । यस रंगशालाको विश्वकपका लागि क्षमता ७० हजार ६४९ दर्शकको छ ।

यस विश्वकपमा सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशालामध्ये डलास स्टेडियम अग्रस्थानमा रहेको छ । यहाँ यो प्रतियोगिताको नवौँ तथा अन्तिम खेल हुनेछ ।

हेड–टु–हेडमा स्पेन अगाडि

फ्रान्स र स्पेन अहिलेसम्म ३८ पटक आमनेसामने भएका छन् । तीमध्ये स्पेनले १८ खेल जितेको छ भने फ्रान्सले १३ खेल आफ्नो पक्षमा पारेको छ । सात खेल बराबरीमा टुंगिएका छन् ।

पछिल्लो भेट २०२५ को यूईएफए नेसन्स लिगको सेमिफाइनलमा भएको थियो, जहाँ स्पेनले ५–४ को रोमाञ्चक जित निकालेको थियो । त्यस खेलमा लामिन यामालले दुई गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याएका थिए ।

पछिल्ला पाँच भेट

स्पेन ५–४ फ्रान्स (यूईएफए नेसन्स लिग २०२५)
स्पेन २–१ फ्रान्स (युरो २०२४ सेमिफाइनल)
स्पेन १–२ फ्रान्स (यूईएफए नेसन्स लिग २०२१ फाइनल)
फ्रान्स ०–२ स्पेन (मैत्रीपूर्ण खेल, २०१७)
फ्रान्स १–० स्पेन (मैत्रीपूर्ण खेल, २०१४)

विश्वकपमा इतिहास

विश्वकप इतिहासमा फ्रान्स र स्पेनको भेट केवल एकपटक भएको छ । सन् २००६ को विश्वकपको अन्तिम १६ मा फ्रान्सले स्पेनलाई ३–१ ले हराएको थियो । फ्रान्क रिबेरी, प्याट्रिक भिएरा र जिदानले त्यस खेलमा गोल गरेका थिए ।

युरोमा प्रतिस्पर्धा

युरोपियन च्याम्पियनसिप (युरो) मा यी दुई टोली पाँचपटक भिडेका छन् । दुवैले दुई–दुई खेल जितेका छन् भने एउटा खेल बराबरीमा सकिएको छ ।

२०२४ को युरो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । त्यस खेलमा यामाल र डानी ओल्मोले गोल गरेका थिए ।

दुवै टोलीका उपलब्धि

फ्रान्स
विश्वकपः १९९८, २०१८
युरोः १९८४, २०००
ओलम्पिक स्वर्णः १९८४

स्पेन
विश्वकपस् २०१०
युरोः १९६४, २००८, २०१२, २०२४
ओलम्पिक स्वर्णः १९९२, २०२४

फ्रान्सका मुख्य खेलाडी

फ्रान्सका कप्तान किलियन एम्बाप्पे यस विश्वकपमा उत्कृष्ट लयमा छन् । उनले आठ गोल र तीन असिस्ट गर्दै गोल्डेन बुटको दौडमा अग्रता कायम गरेका छन् ।

उनलाई आक्रमणमा ओउस्मान डेम्बेले, माइकल ओलिसे र ब्राडली बारकोलाले राम्रो साथ दिएका छन् । डेम्बेलेले ५ गोल गरेका छन् भने ओलिसेले पाँच असिस्ट दिएका छन् ।

मिडफिल्डमा औरेलियन चुआमेनी र एडुआर्डो कामाभिङ्गाको भूमिका पनि महत्वपूर्ण रहने अपेक्षा गरिएको छ । रक्षापंक्तिमा इब्राहिमा कोनाते र विलियम सालिबाको प्रदर्शन पनि फ्रान्सका लागि बलियो पक्ष बनेको छ ।

स्पेनका मुख्य खेलाडी

स्पेनका लागि मिकेल ओयारजाबाल चार गोलसहित टोलीका सर्वाधिक गोलकर्ता बनेका छन् । मिकेल मेरिनोले नकआउट चरणमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका छन् ।

युवा स्टार लामिन यामाल चोटबाट फर्किएपछि विस्तारै लयमा देखिएका छन् । उनले प्रतियोगितामा हालसम्म एक गोल गरेका छन्, तर विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्ने क्षमता देखाएका छन् ।

यसका साथै डानी ओल्मो, निको विलियम्स, पेड्री र फाबियन रुइजजस्ता खेलाडीले पनि स्पेनको आक्रमणलाई थप बलियो बनाएका छन् ।

फ्रान्सको बलियो पक्ष र कमजोरी

फ्रान्सको सबैभन्दा ठूलो शक्ति उसको आक्रमण हो । एम्बाप्पे, डेम्बेले, ओलिसे र बारकोलाको संयोजन कुनै पनि रक्षापंक्तिका लागि चुनौतीपूर्ण मानिन्छ ।

समूह चरणमा भने फ्रान्सले केही कमजोर रक्षात्मक प्रदर्शन गरेको थियो । सेनेगल र नर्वेविरुद्ध गोल खाएको टोलीले त्यसपछि भने नकआउट चरणका तीनवटै खेलमा क्लिन सिट राख्दै आफ्नो रक्षात्मक प्रदर्शन सुधार गरेको छ ।

स्पेनको बलियो पक्ष र कमजोरी

स्पेनको सबैभन्दा बलियो पक्ष उसको संगठित रक्षा हो । टोलीले प्रतियोगिताभर ५ खेलमा केवल एक गोल मात्र खाएको छ ।

यद्यपि आक्रमणमा स्पेनले कहिलेकाहीँ सिर्जनात्मकता अभाव देखाएको विश्लेषण गरिएको छ । पछिल्ला दुई नकआउट खेलमा अन्तिम समयमा मिकेल मेरिनोको गोलले मात्र टोलीलाई जित दिलाएको थियो ।

प्रशिक्षकहरूको रणनीतिमा पनि चासो

फुटबल विश्लेषकहरूका अनुसार यो खेलमा दुवै प्रशिक्षकको रणनीति निर्णायक बन्न सक्छ । फ्रान्सले तीव्र काउन्टर अट्याक र एम्बाप्पेको गतिलाई हतियार बनाउने सम्भावना छ भने स्पेनले लामो समय बल आफ्नो नियन्त्रणमा राख्दै अवसर सिर्जना गर्ने शैली अपनाउने अपेक्षा गरिएको छ ।

मिडफिल्डमा हुने प्रतिस्पर्धाले पनि खेलको नतिजा निर्धारण गर्न सक्छ । जसले मध्यभागमा नियन्त्रण कायम गर्न सक्छ, उसैको फाइनल पुग्ने सम्भावना बलियो हुने विश्लेषण गरिएको छ ।

फाइनलको लक्ष्य

यस सेमिफाइनलको विजेताले विश्वकप २०२६ को फाइनलमा स्थान बनाउनेछ । दुवै टोलीका लागि यो केवल अर्को खेल मात्र होइन, विश्व फुटबलको सर्वोच्च उपाधितर्फको अन्तिम कदमअघिको सबैभन्दा कठिन परीक्षा पनि हो ।

फुटबल समर्थकहरू एम्बाप्पेको अनुभव र यामालको युवा प्रतिभाबीचको रोमाञ्चक भिडन्त हेर्न आतुर छन् । दुवै टोली उत्कृष्ट लयमा रहेकाले यो खेल विश्वकपकै सबैभन्दा रोमाञ्चक र उच्चस्तरीय प्रतिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ ।

Skip This