गोरखापत्र र राससले मागे ठूलो संख्यामा करार कर्मचारी

126
Shares

काठमाडौं  । सरकारी सरकारी सञ्चार गृहहरू गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस) ले विभिन्न पदमा करारमा नयाँ जनशक्ति माग गरेका छन् । दुवै संस्थानले छुट्टाछुट्टै सूचना जारी गर्दै समाचारदाता, सहायक समाचारदाता र फोटो पत्रकार पदका लागि आवेदन आह्वान गरेका हुन्, जसले गर्दा पत्रकारिता क्षेत्रमा आबद्ध हुन चाहने र अनुभवी दक्ष जनशक्तिका लागि ठूलो अवसर सिर्जना भएको छ ।

गोरखापत्र संस्थानले आफ्नो सम्पादकीय र प्राविधिक विभागका लागि करार सेवामार्फत कुल २३ जना जनशक्तिको पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थानले तह ६ को समाचारदाता (नेपाली) का लागि १ जना, तह ५ को सहायक समाचारदाता (नेपाली) का लागि १३ जना, सहायक समाचारदाता (अंग्रेजी) का लागि ८ जना र १ जना सहायक फोटोग्राफरको माग गरेको छ ।

समाचारदाता पदका लागि सम्बन्धित विषयमा स्नातक वा अनुभवसहितको शैक्षिक योग्यता तोकिएको छ भने सहायक स्तरका पदका लागि माध्यमिक शिक्षा (एसईई) उत्तीर्ण भई ३ देखि ५ वर्षको कार्य अनुभव हुनुपर्ने प्रावधान राखिएको छ । इच्छुक उम्मेदवारहरूले २०८० चैत ३० गतेभित्र आवश्यक शैक्षिक योग्यता, अनुभव र निरोगिताको प्रमाणपत्रसहित आवेदन दिइसक्नुपर्नेछ । उम्मेदवारहरूको छनोट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट गरिने संस्थानले जनाएको छ ।

यसैगरी, राष्ट्रिय समाचार समिति (रासस) ले पनि आगामी आर्थिक वर्ष २०८३/८४ का लागि देशका ७७ वटै जिल्लामा स्थानीय समाचारदाता (स्ट्रिन्जर) र फोटो पत्रकार नियुक्त गर्न आवेदन माग गरेको छ ।

राससले काठमाडौं उपत्यका बाहेकका ७४ जिल्लामा प्रतिजिल्ला एक–एक जना समाचारदाता र उपत्यकाका तीनै जिल्ला एवं सातै प्रदेशका राजधानीहरूमा समाचारदाता र फोटो पत्रकारहरूको ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

यसका लागि १०+२ वा एसईई उत्तीर्ण भई पत्रकारितामा अनुभव भएका व्यक्तिहरूले यही असार मसान्तभित्र आवेदन दिन सक्नेछन् । राससले समाचारदाता नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई विशेष प्राथमिकता दिने र मल्टिमिडियामा दखल भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने उल्लेख गरेको छ ।

बिहीबार मात्रै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयमातहतका सञ्चार संस्थानमा दैनिक सेवा प्रवाहमा समस्या पर्ने क्षेत्रमा मात्रै करार कर्मचारी राख्न सकिने बताएका थिए । मन्त्री तिमिल्सिनाले यस्तो बताएकै भोलिपल्ट गोरखापत्र संस्थान र राससले ठूलो संख्यामा कर्मचारी माग गरेका हुन् । शुक्रबार यी दुई संस्थाले कर्मचारी माग गरेको र बिहीबार मन्त्री तिमिल्सिनाले त्यस्तो बताएको भन्दै सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ ।