डिजेल निर्यातमा रुसले लगायो प्रतिबन्ध

105
Shares

एजेन्सी । रुसले बुधबारदेखि लागू हुने गरी डिजेल निर्यातमा प्रतिबन्ध लगाएको छ ।

युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरूमा निरन्तर ड्रोन आक्रमण गरेपछि उत्पन्न इन्धन अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गर्न तथा आन्तरिक बजारलाई सन्तुलनमा राख्न यो कदम चालिएको हो ।

रुसी ऊर्जा पूर्वाधारहरूमा युक्रेनी आक्रमण तीव्र भएसँगै डिजेल र पेट्रोलको आपूर्तिमा ठूलो दबाब परेका कारण रुसका विभिन्न क्षेत्रका चालकहरू इन्धन भर्नका लागि घण्टौंसम्म लाइन बस्न बाध्य भएका छन् ।

उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले टेलिभिजनमार्फत प्रसारित सरकारी बैठकमा बोल्दै इन्धनको अवस्था अझै जटिल रहेको स्वीकार गरेका छन् । उनले पेट्रोल पम्पहरूमा देखिएको वर्तमान असहज अवस्थाले सर्वसाधारणमा चिन्ता पैदा गरेको कुरा प्रस्ट भएको बताए ।

उनले आजदेखि डिजेल निर्यातमा प्रतिबन्ध लगाइएको र यसले आन्तरिक बजारमा इन्धनको आपूर्ति बढाउन सम्भव तुल्याउने जानकारी दिँदै रुसले आगामी जुलाईदेखि इन्धन आयात समेत सुरु गर्ने बताए ।

सरकारका अनुसार, इन्धन उत्पादकहरूलाई समेत समेट्ने यो प्रतिबन्ध आगामी जुलाई ३१ सम्म लागू हुनेछ । रुसले निर्यातमा प्रतिबन्ध लगाएपछि युरोपेली बजारमा डिजेलको मुनाफा दरमा भारी वृद्धि भई प्रति ब्यारल ६०.१७ डलरको ऐतिहासिक रेकर्ड कायम भएको छ ।

ढुवानी तथ्यांकका अनुसार, जुन महिनामा टर्की र ब्राजिल रुसी इन्धनका प्रमुख खरिदकर्ताका रूपमा रहेका थिए जसले उपलब्ध कुल इन्धनको कम्तीमा आधा हिस्सा खरिद गरेका थिए ।

रुसको समुद्री मार्गबाट हुने डिजेल र ग्यास आयलको निर्यात जुन महिनामा पहिले नै उल्लेख्य रूपमा घटिसकेको थियो ।

अघिल्लो महिनाको तुलनामा निर्यात ३९ प्रतिशतले घटेर करिब १८ लाख मेट्रिक टनमा सीमित भएको छ जुन गत वर्षको सोही महिनाको ३३.५ लाख टनको तुलनामा ४६ प्रतिशतले कम हो ।

ढुवानी तथ्यांकले प्रमुख खरिदकर्ताहरू बाहेक जुन महिनामा मोरक्को, इजिप्ट र सेनेगल पनि रुसी डिजेलका मुख्य आयातकका रूपमा उदाएको देखाएको छ ।