
काठमाडौँ । टेरामक्स र एमडीएमएस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको दुवै मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले सफाइ पाएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को मुद्दामा सोमबार विशेष अदालतले पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित दूरसञ्चार प्राधिकरणका कर्मचारी सबैलाई सफाइ दिएको छ ।
प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र सञ्चालक समिति सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई मात्रै एक वर्षको कैद सजायसहित ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
विशेषले प्राधिकरणका अध्यक्ष झा, तत्कालीन कानुन सचिव ज्ञवाली र सञ्चालक उप्रेतीलाई भने सञ्चार मन्त्रालयले दिएको सहमतिविपरीत सार्वजनिक खरिदको प्रक्रिया पालना नगरेको भन्दै दोषी ठहर गरेको छ ।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको निर्णयका आधारमा खरिद प्रक्रिया प्रारम्भ भएकोमा सो प्रक्रिया रद्द भएपश्चात् सर्वोच्च अदालतको आदेशबमोजिम खरिद सम्झौता गरिएको कारण कर्मचारीले अदालतको आदेश पालन गरेको र सोही अनुसारको काम गरेको विशेष अदालतले उल्लेख गरेको छ ।
सर्वोच्च अदालतबाट खरिद प्रक्रिया अघि बढाउन परमादेश जारी भएपश्चात् खरिद सम्झौता भएको भन्ने देखिएको, खरिद सम्झौता पछिका काम कारबाहीमा प्रतिवादीहरूले भ्रष्टाचार गरी अनियमितता गरेको भन्ने स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन सकेको नदेखिएको सहितको आधारमा प्राधिकरणका कर्मचारीलाई सफाइ दिएको छ ।
टेरामक्समा प्राधिकरणका कर्मचारीहरू पुरुषोत्तम खनाल, अच्चुतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, दिपेश आचार्य, सुरेश बस्नेत, हिरण्डप्रसाद बस्ताकोटी र सन्दीप अधिकारीलाई सफाइ दिएको छ ।
प्राधिकरणका यी कर्मचारीमध्ये एमडीएमएसमा विजय कुमार राय, दिपेश आचार्य, सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ र सन्दीप अधिकारीलाई विशेष अदालतले सफाइ दिएको थियो ।
सफाइ पाएर पुनः कार्यालय गएका ती कर्मचारी टेरामक्समा परेपछि पुनः निलम्बनमा परेका थिए । अदालतको आदेशपछि अब यी कर्मचारीहरू बिहीबारदेखि पुनः कार्यालय जाने भएका छन् ।
प्राधिकरणका कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेका कारण तीनवटा महाशाखा प्रमुख गत वर्ष जेठदेखि नै रिक्त रहेका छन् । प्राधिकरणको अनुगमन महाशाखा, प्रशासन महाशाखा र पूर्वाधार महाशाखा रिक्त रहेका छन् । यी महाशाखामध्ये अनुगमनमा राय, प्रशासनमा आचार्य र पूर्वाधारमा हाडा निर्देशक छन् ।






प्रतिक्रिया