
काठमाडौं । त्रिवेणी दाल एन्ड आयल इन्डष्ट्रिजको व्यापार ११ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ११ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब २९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब १४ करोड १० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ४० करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबारको तथ्याङ्क हेर्दा हरेक वर्ष घट्दो क्रममा रहेको देखाउँछ ।
सन् १९९५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका दाल तथा अन्नको कारोबार गर्दै आएको छ । वार्षिक १८ हजार मेट्रिक टन प्रशोधन क्षमता रहेको कम्पनीले चालु आवको ११ महिनाको अवधिमा ८० करोड रुपैयाँको कारोबार गरिसकेको छ ।
कम्पनीले ५.०५ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको छ । सन् २०२४ मा ३.६३ प्रतिशत नाफा मार्जिन गरेको थियो ।
कम्पनीको पुँजी संरचना उच्च ऋणमा निर्भर रहेको छ । कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२४ को तुलनामा सुधार आई ३.२३ गुणा रहेको छ । सन् २०२४ मा ३.८१ गुणा थियो ।
कम्पनीको पुँजी संरचना अत्यधिक ऋणमा निर्भर रहेकाले चालु पुँजी आवश्यकता पूरा गर्न बैंक ऋणमा उच्च निर्भरता रहेको छ । कम्पनीको गत आवमा ब्याज कभरेज अनुपात सुधार भई १.०२ गुणा पुगेको छ ।
सन् २०२४ मा १ गुणाभन्दा कम थियो । त्यस्तै, कम्पनीको कुल ऋण/कुल नगद सञ्चिती गत आवमा १५०.८५ गुणा पुगेको छ । सन् २०२४ मा उक्त अनुपात नकारात्मक थियो ।
संघाई परिवारद्धारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २८ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोढ रुपैयाँको रेटिङ गराएको हो ।






प्रतिक्रिया