
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टीकरण दिएका छन् ।
बुधवार संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गरेको स्पष्ट पारेका हुन् ।
मन्त्री खनालले उक्त घटनामा भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसाय नदेखिएको पनि बताए । उनले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको बताए । मन्त्री खनालले आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको दाबी समेत गरे ।
‘दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपालको भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बद्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क र समन्वय भइरहेको छ,’ उनले भने ।
सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको उनले जानकारी दिए । नेपाली चियाको भारत निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले निरन्तर पहल गरिरहेको र यसै सिलसिलामा भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा र भारतीय चिया बोर्डका उच्च अधिकारीहरूसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावास संवादमा रही कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए ।
गत जेठमा मेरो भारत भ्रमणको क्रममा उच्चस्तरीय तहमा छलफल पनि भएको थियो । परिणामस्वरूप हाल यस समस्याको समाधान भई नेपाली चियाको भारत निर्यात सहज भएको उनले जानकारी दिए । ‘केही दिनअघि भारतले आफ्नो नीतिमा केही परिमार्जन गरेर हाम्रो निर्यातमा सहजीकरण भएको छ,’ उनले भने ।






प्रतिक्रिया