७५ जिल्लामा हुलाकबाट पासपोर्ट घरघरमै पठाउन थालियो


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिना नियुक्त भएको १०० दिनको अवधिमा हुलाक सेवालाई आधुनिक बनाउँदै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्‍याउने अभियानलाई तीव्रता दिइएको छ ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत हुलाक सेवालाई गभरमेन्ट कुरियर सर्भिसका रूपमा विकास गर्दै राहदानी, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, नेपाल टेलिकमका सिमकार्डलगायत सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था विस्तार गरिएको मन्त्रालयले जनाएको छ । साथै स्वास्थ्य परीक्षणका लागि संकलित नमुनालाई सुरक्षित रूपमा प्रयोगशालासम्म ढुवानी गर्ने सेवा पनि सञ्चालनमा ल्याइएको छ ।

मन्त्रालयका अनुसार केन्द्रीय डाँकरेखा पुनरावलोकन समितिले २०८३ वैशाख ३० गते डाँकरेखा पुनरावलोकन गरी स्वीकृत गरेपछि हुलाक सेवा प्रवाहको समय र लागत उल्लेखनीय रूपमा घटेको छ। पुनरावलोकनअघि पोखराबाट पाल्पासम्म हुलाक सामग्री पुग्न १० दिन लाग्ने गरेकामा अहिले सोही रुटमा दुई दिनमै सेवा पुग्ने गरेको मन्त्रालयले जनाएको छ ।

राहदानी वितरणतर्फ हुम्ला र भोजपुरबाहेक ७५ जिल्ला प्रशासन कार्यालयसँग सम्झौता भइसकेको छ । ती कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा प्राप्त भएका २ लाख ६ हजार ३३० राहदानीमध्ये हालसम्म ५ हजार ७२८ वटा सम्बन्धित सेवाग्राहीको घरदैलोमै पुर्‍याइएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवाअन्तर्गत १७ वटा अस्पतालसँग भएको सम्झौताअनुसार हालसम्म १ हजार २३३ वटा स्वास्थ्य प्रयोगशालाका नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासम्म सुरक्षित रूपमा ढुवानी गरिएको मन्त्रालयले जनाएको छ ।

सवारीचालक अनुमतिपत्र वितरणमा पनि हुलाक सेवा विस्तार गरिएको छ । यातायात व्यवस्था विभागबाट प्राप्त ८ लाख ८ हजार ३१ वटा सवारीचालक अनुमतिपत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म पुर्‍याइएको छ । त्यसैगरी कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा घरदैलोमै अनुमतिपत्र पुर्‍याउने सेवाअन्तर्गत हालसम्म १ हजार ८९ वटा लाइसेन्स सम्बन्धित व्यक्तिसम्म ढुवानी गरिएको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयसँगको सम्झौताअनुसार विभिन्न जिल्लाका २६३ वटा शैक्षिक प्रमाणपत्र पनि हुलाकमार्फत सम्बन्धित स्थानमा ढुवानी गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हुलाक सेवालाई परम्परागत चिठीपत्र ओसारपसारमा सीमित नराखी नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने माध्यमका रूपमा विकास गर्ने लक्ष्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको जनाएको छ ।