
एजेन्सी । एप्पलको प्रमुख भारतीय आपूर्तिकर्ता टाटा इलेक्ट्रोनिक्समा भएको ठूलो साइबर आक्रमणका कारण आगामी ‘आइफोन १८ प्रो’सँग सम्बन्धित अत्यन्तै गोप्य जानकारीहरू सार्वजनिक भएका छन्।
रोयटर्सका अनुसार, ‘वर्ल्ड लिक्स’ नामक र्यान्समवेयर समूहले टाटा इलेक्ट्रोनिक्सबाट चोरी गरेका २ लाखभन्दा बढी फाइलहरू डार्क वेबमा सार्वजनिक गरेको हो।
सार्वजनिक भएका कागजातहरूमा सन् २०२६ मा सार्वजनिक हुने भनिएको आइफोन १८ प्रो र १८ प्रो म्याक्सका लागि आवश्यक सयौँ पार्टपुर्जाहरूको विस्तृत सूची र ती सामान उत्पादन गर्ने अन्य आपूर्तिकर्ताहरूको विवरण समावेश छ।
विशेष गरी एप्पलले गोप्य राख्ने गरेको नयाँ चिपसेट, ब्याट्री क्षमता र क्यामेरा मोड्युलका प्राविधिक पक्षहरू यस लिकमार्फत बाहिरिएका छन्। यसका साथै, टाटाको उत्पादन केन्द्रभित्र रहेका आइफोनका प्रोटोटाइप र ‘ड्रप टेस्ट’ गरिएका तस्बिरहरू समेत सार्वजनिक भएका छन्, जसले फोनको डिजाइन र संरचनालाई स्पष्ट पारेको छ।
यो डेटा लिकलाई एप्पलको इतिहासकै सबैभन्दा ठूलो सुरक्षा कमजोरीमध्ये एक मानिएको छ। एप्पलले आफ्ना उत्पादनहरूको गोपनीयताका लागि कडा नियमहरू लागू गर्ने गरे पनि आफ्नै प्रमुख आपूर्तिकर्ताबाट विवरण चोरी हुनुले कम्पनीलाई ठूलो झट्का दिएको छ। यस घटनाले एप्पलको भविष्यको बजार रणनीति र प्रतिस्पर्धी क्षमतामा असर पार्ने अनुमान गरिएको छ।
विशेषज्ञहरूका अनुसार, एप्पलले चीन बाहिर भारतलाई आफ्नो ठूलो उत्पादन केन्द्र बनाउने प्रयास गरिरहेका बेला यस्तो साइबर आक्रमण हुनुले भारतको साइबर सुरक्षा पूर्वाधारमाथि पनि गम्भीर प्रश्न उठाएको छ। यस घटनाले एप्पल र टाटा इलेक्ट्रोनिक्स बीचको व्यावसायिक सम्बन्धमा तनाव पैदा गर्न सक्ने र आगामी दिनमा एप्पलले आफ्ना आपूर्तिकर्ताहरूका लागि अझ कडा सुरक्षा मापदण्ड लागू गर्न सक्ने देखिएको छ।
हालसम्म एप्पल र टाटा इलेक्ट्रोनिक्स दुवैले यस विषयमा आधिकारिक विज्ञप्ति जारी गरेका छैनन्। तर, एप्पलका सुरक्षा विज्ञहरूले यस लिकको प्रभाव र यसबाट हुन सक्ने सम्भावित क्षतिबारे अनुसन्धान सुरु गरिसकेको बताइएको छ। यस साइबर आक्रमणमा एप्पलका अतिरिक्त टेस्ला जस्ता अन्य प्रतिष्ठित कम्पनीका संवेदनशील विवरणहरू समेत जोखिममा परेको दाबी गरिएको छ।






प्रतिक्रिया