आईपीओ ल्याउन लागेको अम्बे स्टिल्सले ९ महिनामा गर्‍यो ६ अर्बको व्यापार, १ करोड रुपैयाँ खुद घाटा

119
Shares

काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) ल्याउने तयारीमा रहेको अम्बे स्टिल्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ६ अर्ब १८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२५ मा ९ अर्ब १० करोड ९० लाख रुपैयाँ, सन् २०२४ मा ८ अर्ब ५ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा १३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको सञ्चालन नाफा मार्जिन गत आवमा सुधार भएको छ । सन् २०२४ मा ७५ करोड सञ्चालन नाफा मार्जिन रहेकोमा गत आवमा बढेर ७६ करोड ५० लाख रुपैयाँ पुगेको छ । तर, कारोबारको तुलनामा नाफा मार्जिन ९ प्रतिशतबाट घटेर ८ प्रतिशत कायम भएको छ ।

गत आवमा खुद नाफा पनि घटेको छ । सन् २०२४ मा २३ करोड रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा १८ करोड ९० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ ।

त्यस्तै, कम्पनीको कुल नगद सञ्चयमा गत आवमा सुधार आएको छ । सन् २०२४ मा २८ करोड २० लाख रुपैयाँ रहेकोमा गत आवमा बढेर ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ४१ करोड ९० लाख रुपैयाँ सञ्चालन नाफा मार्जिन गरेको छ । तर, सो अवधिमा १ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

कम्पनीको पुँजी संरचना अझै पनि उच्च ऋणमा आधारित रहेको छ । सन् २०२४ मा ४ अर्ब १९ करोड ८० लाख रुपैयाँ कुल ऋण रहेकोमा गत आवमा बढेर ४ अर्ब ७२ करोड ७० लाख रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनाको अवधिमा चालुपुँजी कर्जाको उच्च उपयोगका कारण कम्पनीको कुल ऋण उल्लेखनीय रूपमा बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । चालुपुँजी कर्जामा बढ्दो निर्भरताका कारण समग्र गियरिङ अनुपात २.३० गुणाबाट बढेर गत वैशाखसम्ममा ३.०२ गुणा पुगेको छ । जसले ऋण सुरक्षा सूचकहरू कमजोर बनाएको छ ।

चालु आवको ९ महिनाको अवधिमा कुल बाह्य दायित्व/ट्यान्जिबल नेट वर्थ अनुपात बढेर ३.९६ गुणा पुगेको छ । कुल बाह्य दायित्व/ट्यान्जिबल नेट वर्थ अनुपात सन् २०२४ मा ३.७८ गुणाबाट सुधार भई गत आवमा ३.५५ गुणामा झरेको थियो ।

गत आवमा डेट कभरेज सूचकहरूमा पनि सुधार देखिएको छ । ब्याज कवरेज अनुपात सन् २०२४ मा १.९० गुणाबाट बढेर गत आवमा २.१६ गुणा पुगेको छ । सन् २०२४ मा १.२१ गुणा रहेको डेट सर्भिस कभरेज रेसियो घटेर गत आवमा १.१० गुणामा पुगेको छ ।

उच्च मौज्दात र प्राप्ति रकमको स्तरबाट प्रतिबिम्बित हुने चालुपुँजी गहन सञ्चालन प्रकृतिले कम्पनीको वित्तीय लचकता थप सीमित बनाएको छ । कम्पनीको नाफामा सुधार गर्ने क्षमता, चालुपुँजी व्यवस्थापनमार्फत समयमै ऋण घटाउने क्षमता तथा प्रस्तावित आईपीओ सफलतापूर्वक जारी गर्ने र प्राप्त रकमलाई योजनाअनुसार उपयोग गर्ने क्षमता कम्पनीको निगरानीयोग्य पक्षहरू रहेको रेटिङमा उल्लेख छ ।

सन् २००७ मा स्थापना भएको कम्पनी अम्बे ग्रुपद्वारा सञ्चालित कम्पनी हो । सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको कम्पनीले वार्षिक २ लाख ३८ हजार ४ सय मेट्रिक टन क्षमतामा डण्डी, बिलेट, जीआई वायर उत्पादन गर्दै आएको छ । साथै कम्पनीले ३० लाख स्क्वायर मिटर क्षमतामा गाबियन बक्स उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादित सामग्री अम्बे टीएमटी र अम्बे जीआई ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

शोभाकर (हरि) न्यौपानेको २४ प्रतिशत, शिवाज न्यौपानेको १८ प्रतिशत, सज्जन अग्रवालको १२.५० प्रतिशत र शिवानी न्यौपानेको ११ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ३० करोड ३४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ४२ करोड ३५ लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले रेटिङ एजेन्सी इन्फोमेरिक्सबाट दीर्घकालीन कर्जाका लागि कम्पनीले ट्रिपल बी माइनस र अल्पकालीन कर्जाका लागि एथ्री रेटिङ पाएको छ ।