
काठमाडौं । चोभारमा रहेको खाद्यान्नको थोक व्यापार गर्ने ऋषियाना ग्लोबल ट्रेडर्सले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सवा १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ८ महिनाको अवधिमा १ अर्ब १८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
गत आवमा १ अर्ब ७५ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ४७ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार गत आवमा १९ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा ०.२१ प्रतिशत र चालु आवको ८ महिनाको अवधिमा ०.१९ प्रतिशत खुद नाफा कमाएको छ ।
चालु आवको ८ महिनाको अवधिमा कम्पनीको कुल नगद सञ्चय ३० लाख रुपैयाँ छ । सन् २०२० मा स्थापना भएको कम्पनीले कृषिजन्य वस्तुहरू दाल, चामल लगायतको व्यापार गर्दै आएको छ ।
कम्पनीले २ रोपनी क्षेत्रफलमा फैलिएका चारवटा वेयरहाउसबाट कारोबार गर्दै आएको छ । कम्पनीसँग २० करोड रुपैयाँ मूल्य बराबरको वस्तु भण्डारण (स्टोरेज) गर्न सक्ने क्षमता छ ।
युद्धबहादुर चौहानको ५४.४३ प्रतिशत, नवेन्दुकुमार गुप्ताको २३.१० प्रतिशत र सुप्रिया गैरेको २२.४७ प्रतिशत स्वामित्व रहेको यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १७ करोड ५७ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ करोड ५७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९६ करोड रुपैयाँको रेटिङ गराएको हो ।











प्रतिक्रिया