
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा विभिन्न कैफियत फेला परेपछि ५ वटा व्यावसायिक फर्मलाई कुल ७ लाख १६ हजार रुपैयाँ जरिबाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गर्दै म्याद नाघेका वस्तु बिक्री गरेको, मूल्यसूची तथा लेबल नराखेको र खरिद बिल व्यवस्थित रूपमा नराखेको पाइएपछि विभागले अनुगमनस्थलमै नगद जरिबाना असुल गरेको हो।
सबैभन्दा बढी कारबाही कागेश्वरी मनोहरास्थित आरआरआर इन्टरनेसनल ट्रेडिङ प्रालिमाथि गरिएको छ । उक्त फर्ममा म्याद गुज्रिएका मैदा, मस्यौरा लगायतका खाद्य सामग्री फेला परेपछि विभागले २ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको छ।
त्यसैगरी, शंखरापुरमा रहेको सलम्बु फुड एन्ड बेभरेज प्रालिलाई उत्पादनमा मूल्य र लेबल उल्लेख नगरेको पाइएपछि २ लाख १० हजार रुपैयाँ जरिबाना गरिएको छ। यस्तै प्रकृतिको कसुरमा कागेश्वरी मनोहराकै श्री कृष्ण बेभरेजलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।
ललितपुरको सातदोबाटोमा सञ्चालित एप्पल इन्टरप्राइजेज प्रालिलाई लेबलसम्बन्धी प्रावधान पालना नगरेको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरिएको छ।
यस्तै, कोटेश्वरस्थित शिवम् स्टोरले खरिद बिल नराखेको पाइएपछि ५ हजार रुपैयाँ जरिबाना तिर्नुपरेको छ।
विभागले नगद जरिबाना गरेका फर्मबाहेक अन्य ८ वटा व्यावसायिक प्रतिष्ठानलाई भने सचेत गराउँदै आवश्यक निर्देशन दिएको जनाएको छ ।









प्रतिक्रिया